नारायणीको बाढी बस्तीमा पस्यो

नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो ।
बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए । यहाँका करिब चार सयजना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताए। “यहाँ बर्सेनि बाढी पसेर क्षति पुर्याउने गरेको छ”, उनले भने, “बाढीबाट प्रभावितहरू छिमेकीको घर तथा सामुदायिक भवनमा बस्नुभएको छ ।”
बाढी प्रभावितलाई खानाका लागि सामूहिक व्यवस्थापनको तयारी भएको सापकोटाले बताए ।
यसैबीच, नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३ बजे नदीमा पानीको सतह १० दशमलव ४० मिटर पुगेको छ । नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतरा मानिन्छ ।








