नेताका नाममा करोडौँको कार्यक्रम नगरौँ भन्दा नगरसभा रोकियो : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा फेरी स्थगित भएको छ ।
मेयर बालेन्द्र शाह र अन्य जनप्रतिनिधिको विवादका कारण आज पनि नगर सभा बस्न सकेन । यता, मेयर बालेनले भने कांग्रेस र एमालेका जनप्रतिनिधि नगर सभा बैठक रोकेर हिँडेको बताएका छन् ।
उनले पार्टीको नेताका नाममा करौंडाको कार्यक्रम नगरौँ भन्दा नगर सभा बैठक नै रोकेर गएको बताएका छन् ।
बालेनले आफूले चार शहीदको नाममा कार्यक्रम गरौं भन्दा नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिहरू नगर सभाको बैठक रोकेको बताएका छन् ।
बिपी र मदनको नाममा करोडौँको कार्यक्रम गर्न प्रस्ताव आउँदा आफूले त्योभन्दा पनि चार स्वतन्त्र सेनानी शहीदहरूः शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको नाममा गरौं भन्दा जनप्रतिनिधिले नगर सभाको बैठक नै रोकेर हिँडेको बताएका छन् ।
साथै, शाहले कांग्रेस र एमालेबाट निर्वाचित महानगरका जनप्रतिनिधिले चार शहीद भन्दा पनि बिपी कोइराला र मदन भण्डारीको योगदान ठूलो देखेको भन्दै व्यङ्ग्य गरेका छन् ।
‘एमाले कांग्रेस बिपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौं भन्नुभयो । मैले चार स्वतन्त्र सेनानी शहीदहरूः शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठको नाममा गरौं भनेँ’ बालेन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्,’सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस–एमालेको नेताहरूको योगदान धेरै देख्नुभयो होला । त्यसपछि आज बस्ने नगर सभा बैठक रोकेर जानुभयो ।’








