‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको छ’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताएका छन्
।
सोमवारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनियोजन शिक्षकअन्तर्गत बोल्दै उनले यस्तो बताएका हुन् । उनले लामो समय लाइन बस्नुपर्ने बाध्यता नबनाउन मन्त्रालयमा उच्चस्तरीय टोली गठन भई काम सुरु गरिएको बताए ।
उनले हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि विस्तारित सेवा केही संघीय अस्पतालमा लागू भइसकेको र बाँकी लागू गर्ने क्रममा रहेको बताए । उनले उपत्यकाका ठूला अस्पतालहरूमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको पनि बताए ।
उनले भने ‘हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि विस्तारित सेवा केही संघीय अस्पतालमा लागू भइसकेको छ । बाँकी लागू गर्ने क्रममा छौँ । केन्द्रीय अस्पतालमा स्वास्थ्य सेवाको लागि लामो समय कुर्नुपर्ने अवस्था हटाउनको लागि मैले मन्त्रालय सम्हालेको सुरुदेखि नै प्राथमिकतामा राखेको छु । यसका लागि मन्त्रालयमा उच्चस्तरीय टोली गठन भइसकेको र अध्ययन प्रारम्भ गरिसकेको जानकारी गराउँछु । उपत्यकाका ठूला अस्पतालहरूमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको छ ।’
मन्त्री यादवले मिर्गौला सम्बन्धी रोगमा ४ लाख ५० हजारसम्म सहुलियत प्रदान भइरहेको बताए ।








