नक्कली लाइसेन्स जारी गरेको आरोपमा यातायातका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ

काठमाडौँ । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी गरेको आरोपमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखसहित ५ जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उपसचिव ४५ वर्षीय केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर अधिकृत ३७ वर्षीय पदमराज आचार्य, तत्कालीन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत ३३ वर्षीय सुवास पौडेल, यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर ३० वर्षीय राजेश लम्साल र यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर ४७ वर्षीय दिलीपकुमार साहलाई पक्राउ गरेको हो।
उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद लिई लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडी बढाएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।








