बालेनविरुद्ध कवाड व्यवासायीहरूको सडक आन्दोलन (तस्बिरहरू)

काठमाडौँ । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेको छ । आइतबार रिङरोडभित्रका कवाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध संघर्ष समितिले प्रदर्शन गरेको हो ।
कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले अदालतले कवाड व्यवसायीको घर टहराहरूमा क्षति नगर्न र बनाइएको संरचनाहरू नहटाउन भनी दिएको आदेश महानगरपालिकाले अवज्ञा गरेको बताए । उनले अदालतको अवज्ञाविरुद्ध महानगरलाई कारबाही हुनुपर्ने उनले बताए ।
संघर्ष समितिका संयोजक सरोज श्रेष्ठले काठमाडौं महानगरभित्र दर्ता भई पेसा व्यवसाय गर्दै आएका कवाड व्यवसायीलाई फोहोर गरेको, आगलागीका घटना घटाएको र चोरीका घटना बढाएकोजस्ता आरोप लगाइएको बताए ।
उनले काठमाडौं महानगरका विभिन्न वडाहरूले कवाडी हटाउन पत्रसमेत पठाइसकेको बताए । कानुन बमोजिम दर्ता भएर सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएका व्यवसायीलाई निर्बाध रुपमा पेसा व्यवसाय गर्न दिनुपर्ने बताए ।
उनीहरूले महानगरले आफ्नो निर्णय फिर्ता लिएर वार्तामा आए आफूहरू मापदण्डभित्र बसेर व्यवसाय गर्न तयार रहेको तर, व्यवसाय नै निषेध गर्ने कार्य कवाड व्यवसायीहरूलाई स्वीकार्य नरहेको बताए ।
हेर्नुहोस् तस्बिरहरू :









