सरकारलाई दिएको समर्थनबारे रास्वपाले समीक्षा गर्दैछ : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको र आफूहरू खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए । ‘सांसद निर्वाचित भइसकेपछि अहिले सरकारमा गएपछि हामीले अर्को कुरा पनि देखिरहेका छौँ । हामीले एउटा महत्वपूर्ण कुरा के देखिरहेका छौँ भन्दा शासकीय बेथिति सामाजिक बेथिति भन्दा पनि डरलाग्दो कुरा हो भन्नेकुरा हाम्रो साथीहरू सबैले अनुभव गरिरहेका छौं,’ उनले भने, ‘किन भन्दा अहिले सरकारको नेतृत्व गरिहरेको छाैं, तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरी चलिरहेको छ । हामी दुई धारे तरबारका बिचमा चलिरहेका छौँ ।’

कुनैपनि कुरामा रास्वपामाथि अनावश्यक, अनधिकृत हिसाबले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिरिने उनको चेतावनी छ । उनले वर्तमान राजनीतिक परिस्थितिमा एक पटक सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भएको बताए । ‘केही चिजमा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले हामीलाई कुनै किसिमको सम्झौता गर्नुप¥यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ,’ उनले भने, ‘वर्तमान राजनीतिक परिस्थितिमा एक पटक हामी जिम्मेवार नेताहरू सबै बसेर सल्लाह पनि भएको छ । सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको छ । सत्तारुढ दलहरूमा पनि यसलाई पुनरावलोकन र समीक्षा गर्ने कुरा चल्न थालेको छ ।’

मन्त्री श्रेष्ठले रास्वपाले आशा र सम्भावना जीवित राखेर काम गरिरहेको बताए । खेलकुद क्षेत्रलाई व्यवस्थित गर्नेकुरामा आफूहरूले काम पूरा गरेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =