छुट्टाछुट्टै सवारी दुर्घटना : ८ जनाको मृत्यु

काठमाडौँ । सिन्धुली, फिक्कल गाउँपालिका–५ झगडेँबेसीस्थित सडकमा प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा प्रहरी चौकी रत्नावती सिन्धुलीमा कार्यरत मोटरसाइकल चालक धनुषा कमला नगरपालिका–९ घर भई प्रहरी
सहायक निरीक्षक रविन्द्र कुमार ठाकुर र मोटरसाइकलमा सवार तनहुँ भिमाद नगरपालिका–७ घर भएका प्रहरी सहायक हवल्दार सूर्य कुमार श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका रविन्द्र कुमारको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा र सूर्य कुमारको नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
सोल्पाडाडाबाट गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा उक्त मोटरसाइकल दुर्घटना भएको थियो ।
त्यस्तै रूकुम पश्चिम, मुसिकोट नगरपालिका–१ निपानेस्थित सडकमा सल्लेदेखि छिनखेततर्फ जाँदै गरेको क.प्र.०२ ००१ च ०४१३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा चालक सुर्खेत गुर्भाकोट गाउँपालिका–८ मेहेलकुना बस्ने ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ समेत ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका अन्य ३ जनाको नर्सिङ होम नेपालगंज बाँकेमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्थामा गम्भीर रहेको छ ।
धनुषा, सबैला नगरपालिका–९ कलुवामोडमा मे.१ त ९३५५ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने मनोज मण्डलको छोरा ३ वर्षीय डेविड मण्डलको आइतबार राति मृत्यु भएको छ । घर अगाडि खेल्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको गोदावरी हस्पिटल जनकपुर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
झापा, दमक नगरपालिका–३ मावापुलस्थित सडकमा मे.५ प ९७३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–१ घर भएका २२ वर्षीय सगुन राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आम्दा अस्पताल खरखरे दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै ओखलढुङगा, चिशंखुगढी गाउँपालिका–८ माम्खास्थित सडकबाट बाग्मती प्रदेश–०२–०१६ प ८५३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ रातमाटे मझुवा बस्ने ३५ वर्षीय हस्त बहादुर बिकको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








