छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ९ घाइते

काठमाडौँ । कैलाली, घोडाघोडी नगरपालिका–४ भालुफाँटास्थित सडकमा म.प्र.०३–००२ ख ००११ नम्बरको ट्रक र सु.प.प्र.०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ बस्ने २३ वर्षीय कमल तिरूवाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलाली, चुरे गाउँपालिका–३ भक्तपुरस्थित सडकमा भे.२ त १५१६ नम्बरको ट्याक्टरलाई सु.प.प्र.०१००२ त ५२७८ नम्बरको ट्याक्टरले मंगलबार दिउँसो ठक्कर दिँदा भे.२ त १५१६ नम्बरको ट्याक्टर चालक डोटी जोराईल गाउँपालिका–४ बस्ने २० वर्षीय हेमन्त रावलको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका भे.२ त १५१६ नम्बरको ट्याक्टरमा सवार २ जनालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाइएको छ । सु.प.प्र.०१००२ त ५२७८ नम्बरको ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सर्लाही, हरिवन नगरपालिका–१० सुखे पोखरीस्थित सडकमा ना.६ ख ४९८९ नम्बरको ट्रकले ना.६४ प ६०२५ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक बागमती नगरपालिका–२ डुमरी टोल बस्ने २० वर्षीय दिपशरण चालिसेको घटनास्थलमै मृत्यु भएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सर्लाही, बागमती नगरपालिका–१ मिलनचोकस्थित सडकमा बा.९१ प९३६२ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बारा कोल्हबी नगरपालिका–१ बस्ने ६५ वर्षीय निल बहादुर प्रसाईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जयन्ती अस्पताल नयाँरोड हुँदै एलएस न्यूरो बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
डोटी, जोरायल गाउँपालिका–१ खडिनास्थित सडकमा दार्चुलाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ ज १४८९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ९० फिट तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएकी दार्चुला लेकम गाउँपालिका–६ बस्ने २६ वर्षीया भावना ओड पार्कीकी छोरी ३ वर्षीया रितिका पार्कीको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।








