३७ दिनदेखि आमरण अनसनमा बसेका दीपकको अवस्थाबारे एमालेको चाँसो

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पूर्ण असक्त अपांगता भएका व्यक्ति सहयोगी उपलब्ध गराउने संवैधानिक व्यवस्था तत्काल कार्यान्वयन हुने गरी बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।
बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले पूर्ण असक्त अपांगता भएका व्यक्तिलाई सहयोगी दिने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सरोकारवाला पक्षसँग सरकारले सम्झौता गरिसकेकाले त्यसको कार्यान्वयन गरी उनीहरुको संवैधानिक अधिकारको रक्षा गर्न सरकारले ढिलाई गर्न नहुने पनि बताइन् ।
सांसद भट्टराईले सोही मागलाई लिएर ३७ दिनदेखि काठमाडौंमा आमरणमा बसेका दीपक भण्डारीको स्वास्थ्य अवस्था कमजोर भईसक्दा पनि सरकारले सो सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।
‘बजेट विनियोजन गर्न नसक्ने जानकारी पाएपछि पूर्ण असक्त अपांगता भएका दिपक भण्डारी ३७ दिनदेखि आमरण अनसनमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गएको छ’ उनले भनिन् अनसनमा रहनुभएका दीपक भण्डारीको स्वास्थ्य लाभको गर्दै सरोकारवालाहरुसँग मन्त्रालयले गरेको सम्झौतालाई पूर्ण कार्यान्वयन गर्न आवश्यक बजेटको व्यवस्था गरी पूर्ण असक्त अपांगता भएका व्यक्तिहरुको अधिकार संरक्षण गर्न माननीय अर्थमन्त्रीज्युको सम्माननीय सभामुखमार्फत ध्यानाकर्षण गर्दछु ।’
सांसद भट्टराईले सरकारले पूर्ण अशक्त अपांगता भएका व्यक्तिलाई सहायता गर्ने कुरामा ढिलाई गर्न नहुने बताइन् ।








