संसदमा सांसदहरुको संख्या नै बढी भयो : चन्द भण्डारी

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संघीय संसदमा सांसदहरुको संख्या बढी भएको टिप्पणी गरेका छन् ।
निर्वाचित र समानुपातिक गरेर सांसदहरुको संख्या बढी भएकाले बजेट विनियोजनामा पनि समस्या देखिएको उनको निष्कर्ष छ ।
‘यो संख्या नै बढी भयो । सुविधा पनि छैन, अध्ययन पनि छैन । सख्या बढि भयो । संख्या कसरी बढि भयो भने एकातिर इलेक्सनबाट लडेको छ’उनले भने,‘अर्कातिर समानुपातिकबाट आएको छ । एकातिरकालाई जनतासँग कसरी जाने भन्ने छ ? के लिएर जाने भन्ने छ ? र, संख्या बढि भएको कारणले पनि यो समस्या आएको हो ।’
मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद भण्डारीले सांसदहरुलाई अध्ययन र अनुसन्धानमा कमी हुँदा पनि बजेटलगायतका विषयमा समस्या देखिने गरेको बताए ।
उनले सरकारले ल्याएको बजेट कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताए । सांसद भण्डारीले स्थिर सरकार नहुँदा मुलुकमा धेरै समस्या देखिएको पनि उल्लेख गरे ।
‘कोही गम्भिर छैन । एउटा मन्त्रीले नीति, कार्यक्रम ल्याउँछ । त्यही नीति, कार्यक्रम अर्को मन्त्रीले पढछ’ उनले भने, ‘कतिबेला सरकार जाने, कतिबेला मन्त्री जाने ? त्यो पनि छैन । त्यसैले यी समस्या देखिएको हो ।’








