गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, मेयर महर्जन निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सोमबार अख्तियारले विशेष अदालतमा फरक–फरक शीर्षकमा मुद्दा दर्ताका लागि फाइल पेस गरेको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताए ।
नदिजन्य पदार्थको ढुङ्गा, गिटी बालुवासहितका सामाग्रीहरू सरकारी दररेट कम कायम गरी ठेक्का दिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।
राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। अख्तियारले पेस गरेको अभियोगमा कुल एक अर्बभन्दा बढी बिगो माग दाबी गरिएको छ।
राजश्व हिनामिनामा बिगो र बिगोको दोब्बर जरिवाना तथा भ्रष्टाचार निवारण ऐन अनुसार कैद पनि गर्न माग गरिएको छ। अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै मेयर महर्जन निलम्बन भएका छन् ।
आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै अरु १३ जनालाई पनि प्रतिवादी बनाएको छ।








