प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैन : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरूसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताए । उनले सबैले नेताहरूसँग भेट गर्न र सम्पर्क बढाउन पाउने बताए । उनले सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पनि बताए । उनले देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको बताए । उनले आफ्नो पार्टी दुई वटा नाउमा खुट्टा हिँड्ने खाले नरहेको बताए ।
उनले भने ‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ । सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन् । हामी पनि पाउँछौँ । अन्यथा रुपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन । त्यही सिलसिलामा मैले प्रधानमन्त्रीसँग असमझदारी नहोस् भनेर मैले प्रधानमन्त्रीलाई फोन पनि गरेँ । उहाँले भन्नुभयो, ठिक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमेण्ट फाइनल नगरिदिनु होला । कति बेला के हुने हो भन्ने स्थिति थियो र विश्वास छ, एउटा समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ । हामी दुई वटा नाउमा खुट्टा राखेर हिँड्दैनौँ ।’
उनले अहिलेको अन्योललाई टुङ्ग्याउनुपर्ने अवस्था रहेको बताए । उनले सरकारमा बस्ने की नबस्ने भन्नेमा पार्टीको बैठकले टुंगो लगाउने बताए ।








