७७ औँ विश्व स्वास्थ्य महासभा

सुदृढ स्वास्थ्य प्रणाली निर्माणमा नेपालको जोड : स्वास्थ्यमन्त्री यादव

काठमाडौँ । नेपालले सुदृढ स्वास्थ्य प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसनिम्ति अन्तर्राष्ट्रिय समुदाय एवं सहायता निकायको भूमिका महत्त्वपूर्ण हुने बताएको छ ।

जेनेभामा जारी ७७ औँ विश्व स्वास्थ्य महासभालाई मङ्गलबार सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले महामारी नियन्त्रण, पूर्वतयारी तथा प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड पनि सुदृढ स्वास्थ्य प्रणाली निर्माणमा उपयोगी हुने बताएका जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

मन्त्री यादवले बितेका दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका प्रगतिबारे जानकारी दिँदै विभिन्न खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकामा सन्तोष व्यक्त गरे । यद्यपि उनले असमान स्वास्थ्य सेवा तथा सुविधाप्रति चिन्ता व्यक्त गर्दै त्यो अन्त्य हुनुपर्नेमा जोड दिए ।

नेपालको स्वास्थ्य क्षेत्रको सुधारका निम्ति अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय निकायसँग सहकार्य एवं साझेदारी गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै उनले ७६ वर्षदेखि विश्ववासीको स्वास्थ्यका निम्ति विश्व स्वास्थ्य सङ्गठन, सङ्गठनका महानिर्देशक तथा कर्मचारीले निर्वाह गरेका भूमिकाको सराहना गरे ।

‘सबैका लागि स्वास्थ्य, सबै स्वास्थ्यका लागि’ शीर्षकमा सङ्गठनले आयोजना गरेको महासभामा नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री यादव सहभागी छन् । प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपालका स्थायी प्रतिनिधि एवं राजदूत रामप्रसाद सुवेदी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पदाधिकारी सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =