प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड मात्रै छुट्याउँदा ग्लानी महसुस : मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

बुधवार ललितपुरमा भएका छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

उनले आफूले उक्त कार्यक्रमका लागि निरन्तर बजेट बढी विनियोजन गर्न आग्रह गरेको भएपनि त्यसअनुसार बजेट विनियोजन हुन नसकेको बताए । उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई सबै महिलाहरूको नाराका रूपमा अघि बढाउनुपर्ने बताए । उनले महिलाको अधिकारका लागि बजेट माग्दा कम बजेट दिनुले आफूलाई ग्लानी महसुस भएको जिकिर गरे । उनले महिलाहरू आर्थिक रूपले सशक्त नभइकन देश समृद्ध बन्न नसक्ने बताए ।

उनले भने, ‘आर्थिक रूपले सशक्तिकरण जबसम्म हुँदैनन् महिलाहरू तबसम्म भोको पेटले सारंगी बज्दैन । मैले त्यो आधारमा आर्थिक रूपले सशक्त हुने कार्यक्रम गर्नुपर्छ भनेर प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम बनाइरहँदा मन्त्रबालयमै पनि हाँसिमजाक गर्ने कुरा आयो । नीति तथा कार्यक्रममा पनि प्रधानमन्त्री छोरी आत्मनिर्भरको कार्यक्रम आयो, त्यतिखेर प्रतिपक्ष दल मात्र नभई सत्तापक्ष दलदेखि सबैले हाँसेर प्रधानमन्त्रीलाई पनि हँसाइदिनु भयो । कस्तो छ हाम्रो सोचाई भन्ने हो । सरकारको नेतृत्व गर्ने भएको हुनाले, सरकारसँग जोड्नका लागि प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम राखेका हौँ । यसमा राम्रै हुन्छ भनेर हामीले सोचेका थियौँ । बढी आउला की बजेट भन्ने सोचेका थियौँ । तर हेर्नुस् विचरा १० प्रतिशत भनेको जस्तो । मलाई हिजो अलि अलग किसिमको ग्लानी भयो । महिलाहरूको जग्गा, उद्योग दर्तामा केही छुट दिएका छौँ ।’

मन्त्री चौधरीले अहिले नेपाली महिलाहरूले संवैधानिक रूपमा धेरै अधिकारहरू प्राप्त गरेको बताए । यस वर्ष ‘हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ मनाइँदैछ ।

प्रतिक्रिया

One thought on “प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड मात्रै छुट्याउँदा ग्लानी महसुस : मन्त्री चौधरी

  1. जब सम्म पितृसत्तात्मक सोचले महीला उपर “नजर” मात्र राख्दछ तर नारी सशक्तिकरणको सवालमा भने “ध्यान” दिनेछैन तब सम्म महीला “मुक्ति” तथा “अधिकार’ “नारा”मा मात्र सीमित रहने निश्चित छ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *