‘बंगलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउने भए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बंगलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनको लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरूले पढ्न पाउने अवस्था बनेको बताएकी छन् ।

सोमवार अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोल्दै मन्त्री श्रेष्ठले एमबिबिएस र बिडिएस पढ्न बंगलादेशमा सिफारिस गरिएका विद्यार्थीहरूमध्ये केहीको नाम काटिएर आएको समस्याको समाधान भएको बताएकी हुन् ।

बंंगलादेशले दिने २२ जनाको कोटामा सरकारले सिफारिस गरेकोमध्ये १२ जनामात्रै विद्यार्थी छानिएको भनी बंगलादेश सरकारले नतिजा प्रकाशित गरेको थियो । त्यसमध्ये १० जनाको नाम नतिजामा नआएपछि यस सन्दर्भमा सम्बन्धित विद्यार्थी, संसदीय समिति तथा सरकारको सरोकारवाला निकायले चासो देखाएका थिए । यस सम्बन्धमा जानकारी दिँदै मन्त्री श्रेष्ठले बाँकी रहेका १० जनामध्येका ८ जनाले पढ्न पाउने भएको जानकारी गराएकी हुन् । अन्य २ जनाले भने बंगलादेशमा आवेदन भरेको नदेखिएकाले पढ्न नपाउने उनले बताइन् ।

समिति बैठकमा बोल्दै उनले भनिन् ‘२२ जनाको लागि जि टु जीको कोटा थियो । बंगलादेशले दिने वेब लिंक उहाँहरुले पब्लिकली राख्नुभएको रहेछ । दुई जनाले त्यसबाट अप्लाइ गर्नुभएको रहेनछ । हामीले सेलेक्ट गरेर पठाएकाहरू २ जनाले एप्लाइ गर्नुभएको रहेनछ । पहिले १२ जना छानिनुभएको थियो । ८ जना अन्यले पनि पढ्न पाउने भएछन् । बंगलादेशले हामीलाई नोट पठाएकोबाट स्पष्ट के छ, उहाँहरुले त्यो पत्रमै के लेख्नुभएको छ भने तपाईँहरूले पठाएकोमा २२ जनामा १० जना योग्य भएन । हामीले हाम्रो लिङ्कबाट जसले आवेदन ग¥यो त्यसमार्फत लिएको हो भनेर बंगलादेशले स्पष्ट भनेको छ । जम्मा ३६ जनाले आवेदन गरेको रहेछ । २२ जनामध्ये २० जना हामीले छानेर पठाएका विद्यार्थी र अन्य १६ जना । १६ जनामध्ये बंगलादेशले हामीले यो तरिकाले छान्यौँ भनेर बंगलादेशले लेखेको छ ।’

मन्त्री श्रेष्ठले एमबिबिएस दोस्रो सेमेस्टरमा ब्यारियरमा परेका विद्यार्थीहरूको सम्बन्धमा आफूले उपकुलपतिसँग कुरा गर्ने र तत्पश्चात् केही निर्णय गर्न सकिने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *