पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी( निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

नेपाल पत्रकार महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमवार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयको मुलगेटमा तालाबन्दी गरेको हो ।

गत जेठ ८ गतेको सहमति विपरीत महासंघले गैर पत्रकारहरूलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएको त्यसको खारेजीको माग गर्दै केन्द्रीय कार्यालयमा तालाबन्दी लगाउनु परेको संगठनका अध्यक्ष विश्वमणि सुदेवीले बताए । उनले सो सदस्यता न्यायोचित नहुँदासम्म आफूहरूले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिए ।

अध्यक्ष सुवेदीले भने ‘गैर पत्रकाहरुलाई सदस्यता दिने काम, सदस्यता सूचिमा राख्ने काम भयो । र त्यसमा हामीले आपत्ति जनायौँ । नेपाल पत्रकार महासंघको वैधानिक प्रावधान, वैधानिक अभ्यास अनुसार सदस्यताको उत्पत्ति हुने र अन्त्य हुने दुवै कुरा जिल्ला शाखासँग निहित छ । प्रदेश र केन्द्रले अनुगमन मात्रै गर्ने हो । जिल्ला शाखाहरूले सिफारिस गरेका सदस्यहरू केन्द्रबाट सिधै हटाउने काम भएको छ । प्रदेशबाट हटाउने काम भएको छ । जिल्ला शाखाहरूले सुद्धिकरण गर्नुपर्छ भनेको नामहरूलाई केन्द्र र प्रदेशबाट राख्ने काम गरिएको छ ।

त्यसरी राखिएका नामहरू, ती व्यक्तिहरू पत्रकार होइनन् । गैर पत्रकारहरूको संख्या बढी राखिएको छ । हामीले भन्यौँ शुद्धीकरण । शुद्धीकरण के का लागि भन्दा पत्रकार महासंघलाई पत्रकारहरूको मात्रै बनाऔँ भनेर । तर अहिले गैर पत्रकारहरूको नाम रातारात थपेर फेरी अर्को सूचि ल्याइयो । त्यसमा अध्यक्ष र महासचिवले हस्ताक्षर गर्नुभएको छ । महासंघको स्टयाम्प हालिएको छ । र, त्यो निर्वाचन समितिलाई बुझाउनका निमित्त तयार पारिएको अवस्थामा हिजो राति हामीले प्राप्त ग¥यौँ । त्यो सदस्यता सूचिमा ८ गते तयार भएको सूचि भन्दा फरक नामहरू लेखेर आयो । पत्रकारिता पेसाबाट बाहिर रहेका अन्य पेसा र व्यवसाय गर्ने व्यक्तिहरूको नाम हामीले देखिसकेपछि अव पत्रकार महासंघलाई हामीले जे बनाउने भनेका थियौ, त्यो नबन्ने भयो भने पछि हामीले त्यो सूचि खारेज गर्नुपर्छ भन्ने मागका साथ नेपाल पत्रकार महासंघमा ताला लगाउनका निमित्त यो केन्द्रीय कार्यालयमा उपस्थित भएका छौं ।

जेठको २६ गते महासंघको तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने भन्ने कुरामा हाम्रो सहमति मात्रै होइन, एकदम दबाबमूलक माग पनि छ । त्यही मितिमा चुनाव गरिनु पर्दछ । तर सदस्यताको सूचि न्यायोचित हुनुपर्दछ भन्ने हाम्रो माग रहेको छ । हामीले न्यायोचित ढंगले सदस्यता सूचि ल्याईयोस भनिरहँदा हामी माथि नै आक्रमण गर्ने काम भइराखेको छ । समाजवादी प्रेस संगठनसँग सम्बन्धित साथीहरू जो अघिल्लो सूचिमा पर्नु भएको थियो, ती साथीहरूको नाम पनि अहिले हटाउने काम भएको छ । र, विशेष गरेर २ वटा सङ्गठनको स्वार्थमा ती संगठनलाई बलियो बनाउने भन्ने नाममा रातारात यस्तो काम भएको छ ।

छापामारा शैलीमा यस्तो काम भएको छ । नेपाल पत्रकार महासंघमा यसरी छापामार शैलीमा काम गर्न पाइँदैन, सबै कामहरु पारदर्शी हुनुपर्दछ । सदस्यता निर्धारण गर्ने कुरामा पनि पारदर्शी हुनुपर्दछ भन्ने माग रहेको छ । ८ गते भएको सहमतिमा पनि केही नामहरू थपिनुपर्ने थियो । त्यसो गर्नुको सट्टामा भएका नामहरू पनि हटाएर गैर पत्रकारलाई राखेर तयार पारिएको सूचिप्रति हाम्रो आपत्ति छ । त्यो खारेज हुनुपर्दछ । त्यो खारेज नहुँदाका दिनसम्म र न्यायोचित ढंगले सदस्यता सूचि नल्याउँदासम्म हामी सम्पूर्ण प्रक्रियाहरू अवरुद्ध गर्ने पक्षमा छौं । यसकारण हामीले महासंघको केन्द्रीय कार्यालयमा ताला लगाउन आएका छौं ।’

समाजवादी प्रेस संगठनले महासंघले नेपाल पत्रकार महासंघका आबद्ध आफ्नो संगठनमा आबद्ध पत्रकारहरूको नामावली सदस्यता सूचिबाट हटाएको भन्दै आपत्ति जनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *