बुढानीलकण्ठ नगरपालिका प्रमुखसहित तीन वडाध्यक्षलाई एक महिना कैदकाे फैसला

अदालतले बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी र तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाएको छ।
उनीहरुलाई पक्राउ गर्न पनि अदालतले आदेश दिएका छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्र कुमार आचार्यको इजलासले शुक्रबार यस्तो फैसला सुनाएको हो । अदालतले वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई पनि सजाय सुनाएको हो।
जिल्लाले यसअघि गरेको फैसला कार्यान्वयन गर्न अटेर गरेको भन्दै यस्तो आदेश दिएको हो ।
‘अदालतको फैसला नमान्ने तथा कार्यान्वयनमा अटेर गर्ने देहायका प्रतिवादीहरूलाई मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २३८९१६० अनुसार जनही १ महिना कैद हुन्छ’, फैसलामा भनिएको छ, ‘सो कैद लगत कसी प्रहरी मार्फत पक्राउ गरी असुल उपर गर्नु । कैद असुलका सम्बन्धमा तलका सर्त अनुसार गर्नु ।’
माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरूले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडि दिएको प्रतिवेदन पेस गरेमा उक्त कैद असुल गर्न नपर्ने पनि फैसलामा सर्त राखिएको छ ।








