कक्षा कोठामा शिक्षामन्त्री- ‘पुस्तक पुनः प्रयोग गर्न जतन गरेर राख्नुहोस्’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पुस्तक पुनः प्रयोग गर्ने नीति कार्यान्वयन गर्न सके त्यसबाट बचेको रकम विद्यालयले विद्यार्थीकै हितमा प्रयोग गर्न सक्ने बताएकी छन् ।

मन्त्रालयले आगामी बजेटमा पुस्तक पुनः प्रयोगबारे कार्यक्रम राखेको छ । आज काठमाडौँको बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै पुस्तक जतन गरेर राख्न उनीले सुझाव दिइन् । ‘तीन अर्बभन्दा बढी रकम हरेक वर्ष पुस्तक छाप्न खर्च हुन्छ, त्यसको केही प्रतिशत मात्रै हामीले बचाउन सक्यौँ भने त्यो रकम विद्यार्थीकै खाजा र अरू कार्यक्रममा खर्च गर्न सकिन्छ’, मन्त्री श्रेष्ठले भनिन् ।

उनीले विद्यार्थीहरूलाई किताब कसरी विद्यार्थीको हातमा पुग्छ भन्ने प्रक्रियाबारे बुझाएकी थिइन् । ‘पाठ्यक्रम विकास केन्द्रले किताब तयार गरेर छाप्न जनक शिक्षा सामाग्री केन्द्रलाई दिन्छ र केन्द्रले पुस्तक छापेर प्रादेशिक डिपोमा पठाउँछ ।

प्रादेशिक डिपोले जिल्लागत स्थानीय बिक्रेता कहाँ पठाउँछ र त्यहाँबाट विद्यालयले खरिद गरी विद्यार्थीलाई पुस्तक दिन्छ’, मन्त्री श्रेष्ठले भनिन् । उनीले पुस्तकलाई ढोग्ने र सुरक्षित राख्ने हाम्रो संस्कार रहेकाले पुस्तक सुरक्षित राख्न आग्रह गरिन् ।

आठ कक्षाको मात्रै पुस्तक अर्कोपल्ट प्रयोग गर्ने हो भने खाजा खर्च २० रुपैयाँ गर्दा एक लाख ३६ हजार छ सय १३ जना अरू विद्यार्थीले दिवा खाजा पाउने उनीको भनाइ थियो । सरकारले पुस्तक सुरक्षित राखेर फिर्ता गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने नीति बनाइरहेको मन्त्री श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *