सभामुखले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । छलफलका लागि सभामुखले मंगलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा नेताहरूलाई बोलाएका हुन् ।

यही वैशाख २८ गतेका निम्ति संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफूहरूका माग पूरा नभए संसद् बैठक चल्न नदिने जनाएको छ । नियमित रूपमा बैठक सञ्चालनका विषयमा सहमति जुटाउने प्रयासस्वरूप सभामुखले शीर्ष नेताहरूलाई बोलाएका हुन् ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलाई बोलाइएको छ ।

सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरुद्ध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष नेताहरूको बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *