जसपा विभाजन : वैकल्पिक गठबन्धन बन्न नदिने प्रयास

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सघन छलफल भएको छ । शनिबार राति प्रधानमन्त्रीनिवास बालुबाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल भएको हो ।

तीन नेताबीच समसामयिक राजनीति र बजेट अधिवेशनको विषयमा झण्डै तीन घण्टा छलफल भए पनि सत्तारूढ गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपाललाई भने सहभागी गराइएन । गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव भने अमेरिका भ्रमणमा रहेकाले छलफलमा उपस्थित हुन सकेनन् ।

तर, नेकपा एसका अध्यक्ष नेपाल भने काठमाडौंमै रहे पनि छलफलमा बोलाइएन । पछिल्ला दिनहरूमा अध्यक्ष नेपाल सत्ता गठबन्धनसँग रुष्ट देखिएका छन् । अध्यक्ष नेपाल पुरानै गठबन्धन (कांग्रेस-माओवादी) ब्युताँउने प्रयासमा लागेको बताइएको छ । वर्तमान सत्ता गठबन्धनविरुद्ध लागेको भन्दै एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेको बलमा नेपाललाई छलफलमा नबोलाइएको स्रोतको दाबी छ । यसैलाई बल पुग्नेगरी सत्ता जोगाउन यादव नेतृत्वको सत्तारुढ दल नै विभाजित हुन पुगेको छ ।

जसपा नेपालको विभाजनको मुख्य ध्येय सत्ता गठबन्धनको सम्भावित संकट टार्नु रहेको कतिपयको टिप्पणी छ । प्रधानमन्त्री प्रचण्डको विकल्प खोज्नेबारे नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी र जसपा नेतृत्वबीच अनौपचारिक संवादहरू निरन्तर भइरहेका थिए । वैकल्पिक गठबन्धन निर्माणका लागि कांग्रेसले गरेको पहलमा उपेन्द्रले साथ दिने संकेत पाएपछि सत्ता गठबन्धनका नेताहरूको सल्लाहमै जसपा विभाजन गराइएको जसपाका नेताहरूको दाबी छ ।

जसपा नेपालका प्रवक्ता मनीषकुमार सुमनले पार्टीभित्र कुनै पनि विवाद नभएको बेला हठात विभाजन गरिनु शंकास्पद रहेको बताए । ‘केही साथीहरू पार्टीबाट बाहिरिनु भएको छ । उहाँहरूले आफ्नो राजनीतिक हत्या गर्नुभएको छ,’ उनले भने, ‘यसबारे थप छलफल हुन्छ । हामी आत्तिएका छैनौँ ।’

विभाजनको पक्षमा बहुमत नपुग्ने र केन्द्रीय समितिका बहुमत सदस्यको साथ यादवलाई नै रहेको सुमनले बताए । संसद्मा जसपाको १२ सिट रहेको थियो । विभाजनले मान्यता पाए यादव नेतृत्वको जसपामा अब पाँच जना मात्रै सांसद रहनेछन् । कांग्रेसले आफ्नो ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाको चार(चार गरी संसद्मा १३८ मत पु¥याएर वैकल्पिक गठबन्धन बनाउने तयारी गरेको थियो । जसपा विभाजनले वैकल्पिक गठबन्धन निर्माणमा बाधा पुगेको छ । अब नेकपा एस र यादव नेतृत्वको जसपाले सरकार छाडे पनि प्रधानमन्त्रीको पक्षमा बहुमत रहिरहने अवस्था बन्छ ।

उपप्रधानन्त्री देशबाहिर रहेका बेला मन्त्रीको सक्रियतामा पार्टी फुट्नुमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्ने जसपाका एक नेताको दाबी छ । ‘धेरै कुरा अध्यक्षसँग छलफल गरेपछि मात्रै भन्न सक्छु । यत्ति बुझ्नु कि उपप्रधानमन्त्रीको पार्टी मन्त्री लगाएर फुटाउने काम प्रधानमन्त्रीबाहेक कसले गर्नसक्छ ?’ जसपाका एक नेताले भने ।

जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई लगायतले विभाजनमा साथ दिएका छन् । नेता श्रेष्ठले अध्यक्ष यादवले वर्तमान सरकारको विकल्प खोजेकै कारण पार्टी विभाजित भएको बताए । ‘अध्यक्षका गतिविधिले अस्थिरता ल्याउने भयो त्यसैले यस्तो कदम चाल्न बाध्य भयौँ’ श्रेष्ठले भने ।

यता विभाजित जसपाका अध्यक्ष अशोक राईले पार्टीभित्र व्यक्तिवादी अस्थिर चरित्र हावी भएकाले पार्टी विभाजन गरिएको बताएका छन् । निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै राईले पार्टी महाधिवेशनको संघारमा भए पनि अध्यक्षले सामूहिक र विधानसम्मत व्यवहार नगरेको बताए । अध्यक्षले आफैँ उपप्रधानमन्त्री रहेको सरकारविरुद्ध भित्रभित्रै काम गरेको पनि राईको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *