आगामी वर्षको बजेटको तयारी अन्तिम चरणमा छ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको र बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा पुर्याएको बताएका हुन् ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरू सम्बोधन गर्ने आश्वासन दिए ।

उनले आम नागरिकलाई गुणस्तरीय सेवा पुर्याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि सो प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने पनि बताए ।

उनले भने ‘नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा प्रत्याभूत गरेको अवस्थामा आम नागरिकलाई गुणस्तरीय सेवा पु¥याउन राज्यको प्रमुख भुमिका हुनेतर्फ प्रतिष्ठानको भुमिका महत्वपूर्ण रहनेछ । प्रतिष्ठानले आफ्नो कार्यलाई अझ बढी निरन्तरता दिने, क्षमता बढाउने र उच्चस्तरीय अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने छ भन्ने मैले विश्वास लिएको छु । यतिबेला सरकार अर्को वर्षको नीति, कार्यक्रम र बजेटको अन्तिम तयारीमा जुटिरहेको छ । त्यसैगरी बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा गएको छ । यस्तो बेलामा यो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवस सम्पन्न हुँदैछ । म के विश्वास दिलाउन चाहन्छु भने तपाईँहरूले यो पटक यहाँ उठाउनुभएको कयौं कुराहरू नीति, कार्यक्रम र बजेटमा सम्बोधन गरिनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

प्रधानमन्त्री दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई स्वास्थ्य क्षेत्रको आवश्यकता सम्बोधन गर्न पनि उल्लेखनीय योगदान पुर्याउने सरकारको अपेक्षा रहेको बताए । वीर अस्पताललाई आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने बताए ।

देशलाई आवश्यक लगायतका दक्ष जनशक्ति उत्पादन गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट आगामी आर्थिक वर्षमा भरतपुर अस्पताल र वीर अस्पतालमा उक्त कार्यक्रम सुरु गरिने जानकारी दिए । साथै वीर अस्पतालको बिस्तारका लागि बनाइएको दुवाकोटको १५ सय बेडसहितको अस्पताल बनाउने गुरूयोजनामा पहिलो चरणको ५ सय बेडको अस्पताल र मेडिकल कलेजको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाउँदै स्तरोन्नति गरी अन्तराष्ट्रियस्तरको बनाइने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *