ओलीको अहंकार र रावलको ढिपिले खोजेको मोड

काठमाडौँ । ‘कुर्सी होइन, ओहोदाका पगडी होइन,कोही मान्छे उच्च र कार्यकारी पदमा बस्यो भन्दैमा असल नेतृत्व हुन्छ भन्ने होइन । बिचार छ भने त्यो बिचार नष्ट हुन्छ यदि नेतृत्वमा घमन्ड पलायो भने,अरूलाई होच्याउने, हेप्ने र मान्छे नगन्ने म मात्रै भन्ने खालको अहंकार नेतृत्वमा भयो भने त्यो नेतृत्व हुन सक्दैन । त्यो त पुरानो पुस्तक हुन्छ ।’ यो भाषण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हो । तर, ओलीको बोली र व्यवहार भने आकाश पातलको फरक छ ।

सम्भवतः नेपालको राजनीतिमा नेतृत्वलाई प्रश्न गर्ने र पार्टीमा प्रतिस्पर्धा गर्नेलाई उपेक्षा र प्रतिशोध साध्ने कुनै नेतृत्व छ भने त्यो नेकपा एमालेको नेतृत्व नै हो । यसको एक दृश्य हो– एमाले नेतृत्वले भीम रावल, धनश्याम भुसाल जस्ता नेताहरूलाई धकेली धकेली घुम्तीको डिलमा पुर्‍याएको ।

एमाले अध्यक्षमाथि प्रश्न उठाउँदैमा र उनीसँग प्रतिस्पर्धा गरेको भन्दै भीम रावल जस्ता तमाम नेताहरू अहिले एमाले नेतृत्वको उपेक्षाको सिकार बनेका छन् । पार्टीमा योगदान दिएकाहरूलाई होइन, चाकडीवाद र नेतृत्वको गलत कदमलाई पनि साथ दिनेहरूको मात्रै रजगज चल्न थालेको स्पष्ट देखिन्छ । पार्टीको १० औँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका भीम रावललाई पार्टी नेतृत्वले गरेको उपेक्षा हेर्दा लाग्छ, पार्टीले लोकतन्त्र ल्याएका होइनन्, प्रतिशोधतन्त्र ल्याएका रहेका छन् ।

ओलीको अहंकार र रावलको ढिपीले पार्टीमा देखिएको अन्तर्विरोध छताछुल्ल भएको छ । १० ओ महाधिवेशनदेखि गोदावरीमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सकिँदासम्म रावल घुम्तीमा पुगेका छन् । उनी अब घुम्तीबाट मोडिन चाहन्छन् ।

अध्यक्ष ओलीको निषेधको राजनीति र प्रतिशोधको कोपभाजनमा पर्दा रावल पार्टीभित्रै किनाराकृत भएका हुन् । पार्टी भित्रको अन्तर सङ्घर्षले पेलिएका रावलले अहिले एमाले छाड्ने संकेत गरेका छन् ।अर्थात् घुम्तीबाट मोडिन चाहेका छन् ।

‘एउटा घुम्तीमा पुगेजस्तो मैले महसुस गरेको छु उनले भने, ‘हामी सबैलाई थाहा छ– हाम्रो सामान्य जीवनमा पनि हिँड्दै जाँदा घुम्तीमा पुग्यौँ भने त्यो अर्को मोडमा मान्छे लाग्छ ।’

सुदूरपश्चिममा एमालेको खम्बा रहेका रावल पार्टीको सबै गतिविधिबाट गलहत्त्याइँदा होस् या चुनावमा टिकट नदिँदा ओलीको आलोचनामा खरो उत्रिए । तर पनि चित्त बुझाएर धैर्य गरेका उनको अहिले भने धैर्यताको बाँध टुटेको देखिन्छ । पाँच दशक पार्टीमा योगदान दिएका रावल एमाले छोड्ने अवस्थामा पुगेका छन् ।

उसो त, रावल स्वयमले भने अहिले नै एमाले छाड्ने घोषणा भने गरिसकेका छैनन् । यद्यपि उनले यसको संकेत भने गरिसकेका छन् । राजनीतिको घुम्तीमा पुगेका रावल अब आफ्नै पार्टी खोल्छन् या अन्य कुनै पार्टीमा प्रवेश गर्छन्, यो चासोको विषय बनेको छ ।

कतिपयले नेकपा समाजवादीको महाधिवेशन नजिकै आइरहेका बेला रावलको यस्तो भनाइले उनी नेकपा एसमा प्रवेश गर्न लागेको समेत बताउँछन् । उनी महाधिवेशनबाट नेतृत्व तहमा पुग्नेगरि नेकपा एसमा आउन लागेको नेकपा एसका एक सचिवालय सदस्यले बताए । ‘हामी कम्युनिस्ट नेता एक हुनुपर्छ भन्ने मान्यता राख्छौ, एमालेमा हामीले गरेको विद्रोह अहिले सार्थक देखिएको छ, यो कुरा भीम रावल घुम्तीमा पुगेको विषयले पनि देखाउँछ’,उनले भने,‘रावलजी अब हाम्रो पार्टीमा आउनुहुन्छ, महाधिवेशनमा उहाँलाई स्वागत गर्न हामी तयार छौँ ।’

राजनीतिको घुम्तीमा पुगेका रावललाई अहिले अफरै अफर छ । एमालेमा आफ्नो प्रभावशाली शक्ति बनाएका उनलाई सबै पार्टीले तान्न खोजिरहेका छन् । रावललाई नागरिक उन्मुक्ति पार्टीदेखि रास्वपासम्मका पार्टीहरूले छलफल गरिरहेका रावल निकट एक नेता बताउँछन् । यद्यपि रावल अब के गर्छन् ? कता मोडिन्छन् ? यसका लागि प्रतीक्षा गर्नुको विकल्प छैन ।

यदि एमालेबाट रावलको बहिर्गमन हुनु चाहिँ एमालेका लागि ठूलो क्षति हुने वामपन्थी नेताको टिप्पणी छ । योसँगै ओलीका कारण समग्र कम्युनिस्ट पार्टीकै दुर्दशा सुरु भएको विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *