नेकपा एसले तल्लो तहको सुझाव सुन्ने, दस्तावेजलाई परिमार्जन गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजका लागि पार्टी मातहतका सातवटा प्रदेश सम्पर्क कमिटी र ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ ।

आगामी जेठ मसान्तभित्र मातहतका सबै सम्पर्क कमिटीमा दस्तावेजमा विस्तृत छलफल सम्पन्न गरी केन्द्रमा राय, सुझाव बुझाउन समयसीमा निर्धारण गरिएको हो । तल्लो तहदेखि आएको सुझाव समावेश गरी दस्ताबेजलाई परिस्कृत र परिमार्जित गरिने छ ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्ने १० औँ राष्ट्रिय महाधिवेशनका लागि असार १ गतेदेखि प्रतिनिधि चयन गर्न लागेको पार्टी सचिव एवं पूर्वमन्त्री मेटमणि चौधरीले जानकारी दिए । मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीले सम्बन्धित प्रतिनिधिको नामावली आगामी जेठ दोस्रो सातासम्म सिफारिस गरी केन्द्रमा पठाउन पार्टीले निर्देशन दिएको छ ।

पार्टी मातहत कमिटीले पठाएको नामावलीका आधारमा प्रतिनिधि छनोट गरिने छ । पार्टी सदस्यता प्रमाणीकरणपछि उनीहरू मतदाता तथा उम्मेदवार बन्न पाउने छ्न् । सबै कमिटीले सम्बन्धित नेताको सङ्गठनमा गरेको योगदान तथा कार्य सम्पादनको मूल्याङ्कनका आधारमा प्रतिनिधिको सिफारिस गर्न र आफ्नो कार्य क्षेत्रका सदस्यलाई बैठक गरी त्यसको जानकारी गराउनुपर्ने छ ।

पार्टी सदस्यता विस्तार तथा सङ्गठन सुदृढीकरण गर्न गत माघ २५ गतेदेखि चैत २५ गते दुई महिनासम्म महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरिएको थियो । सो अवधिमा पार्टी सदस्य व्यवस्थित तथा विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, वितरण गर्न सदस्यता शुल्क, लेविलाई व्यवस्थित गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *