धनकुटाको कोसेली ‘नरिवल बिस्कुट’

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य नरिवलको बिस्कुट खान नभुल्नुस् । मिठो स्वादसहितको बिस्कुट आफन्तलाई कोसेलीको रूपमा लैजान पनि सक्नुहुन्छ ।

धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको रूपमा किन्ने गरेका छन् । त्यसो त धनकुटामा उत्पादित नरिवल बिस्कुटको इतिहास ७० वर्ष पुरानो हो । हातबाट निर्मित नरिवल बिस्कुट कुनैबेला चियासँग खाजाको रूपमा खाने गरिन्थ्यो ।

वि.सं २०११ मा स्थापित धनकुटा नगरपालिका–४ स्थित मोहन बिस्कुट उद्योग जिल्लाकै सबैभन्दा पुरानो घरेलु बिस्कुट उद्योग हो । औपचारिक रूपमा वि.सं २०३० मा उद्योग दर्ता गरी सञ्चालनमा आएको यस उद्योगबाट बिस्कुट बनाउन सिकेर अहिले जिल्लामा १८ वटा घरेलु नरिवल बिस्कुट उद्योग सञ्चालनमा छन् ।

उद्योग सञ्चालक मोहन श्रेष्ठका अनुसार अहिले उद्योगले दैनिक दुई सयदेखि एक हजार झोलासम्म नरिवल बिस्कुट उत्पादन गर्छ । उत्पादित बिस्कुट धनकुटा बजार पर्यटकीय नगरी भेडेटार र तेह्रथुम जिल्लाको जिरिखिम्ती लगायतका स्थानबाट कोसेलीका रूपमा बिक्री हुने गरेको छ ।

बाह्र जना कामदार राखेर १६ प्रकारको बिस्कुट उत्पादन गर्दै आएको उद्योगले नरिवल बिस्कुट बाहिरबाट जिल्ला आउने र जिल्लाबाहिर जानेले कोसेलीका रूपमा लाने गरेका छन् ।

त्यस्तैगरी धनकुटा नगरपालिका–६ पात्लेखोलाको ओम बिस्कुट उद्योगले दैनिक तीनदेखि चार सय झोला नरिवल बिस्कुट उत्पादन गर्दै आएको छ । बिगत १२ वर्षदेखि नरिवल बिस्कुट उत्पादन गर्दै आएको उद्योगका सञ्चालक टीका कटुवालले आफ्नो उद्योगबाट उत्पादित बिस्कुट कोसेलीकै रूपमा बिक्री हुने गरेको जानकारी दिए ।

कटुवालका अनुसार जिल्लामा घुम्न आउनेले कोसेलीका रूपमा लाने र जिल्लाबाट बाहिर जाँदा आफन्तलाई बिस्कुट कोसेली लाने चलन छ । ‘यहाँ खाएर त सकिने कुरै भएन जिल्लामा उत्पादन भएको सबै बिस्कुट कोसेलीका रूपमा नै जाने हो’, कटुवालले भने ।

त्यस्तै २०६६ सालबाट दुई लाख लागतमा धनकुटा–१ हिले बजारमा बिस्कुट उद्योग सञ्चालन गरेका टेकबहादुर गोङ्वा तामाङले पनि दैनिक तीन सय झोलासम्म नरिवल बिस्कुट उत्पादन गर्छन् । उनले पनि धनकुटाको पहिचान तथा कोसेलीका रूपमा जिल्ला बाहिर नरिवल बिस्कुट लैजाने गरेको बताए ।

अहिले नरिवल बिस्कुटको खुद्रा मुल्य प्रति झोला ६० देखि ८० सम्म छ । जिल्लामा प्रायः सबै पसल तथा राजमार्गका पसलमा नरिवल बिस्कुट बेच्न राखेको देखिन्छ । बिगत ११ वर्षदेखि धनकुटाको बसपार्कमा ब्यपार गर्दै आएका चन्द्रकला प्रधानले बाहिरबाट आउने पाहुनाले कोसेलीका रूपमा नरिवल बिस्कुट नै किनेर लैजाने गरेको बताए ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाका अनुसार बिस्कुट उद्योगले उत्पादन गरेको प्रायः सबै बिस्कुट कोसेलीका रूपमा बिक्री हुने गरेको छ । जसका कारण बिस्कुट उद्योग फस्टाइरहेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार अहिले धनकुटा नगरपालिकामा १३ वटा, पाख्रिबास नगरपालिका र छथर गाउँपालिकामा दुई/दुई वटा र सहिदभूमि गाउँपालिकामा एउटा घरेलु बिस्कुट उद्योग सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *