दाङको टरिगाउँ विमानस्थल स्तरवृद्धि गर्न माग

दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरवृद्धिको माग गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धनबहादुर मास्कीले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनलाई मागपत्र पेस गरेका छन् ।

सांसद मास्कीले मन्त्री पुनलाई आइतबार सो मागपत्र पेस गर्दै सङ्घीय सरकारले ल्याउन लागेको आगामी वर्षको बजेटमा सो विमानस्थल स्तरवृद्धिको आयोजनालाई बहुवर्षीय योजनाअन्तर्गत समावेश गर्न माग गरेका हुन् ।

टरिगाउँ विमानस्थल लुम्बिनी प्रदेश राजधानीको एउटा महत्त्वपूर्ण संरचना रहेकाले यसको विस्तार आवश्यक रहेको भन्दै अर्थमन्त्री पुनलाई ध्यानाकर्षण गराएको सांसद मास्कीले जानकारी दिए । त्यस अवसरमा अर्थमन्त्री पुनले टरिगाउँ विमानस्थलका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए पनि सदस्य मास्कीले बताए ।

यो विमानस्थलको धावनमार्ग सात सय ५० मिटर लामो रहेकाले १९ सिटे ट्वीनअटरभन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन । यसकारण पनि यहाँ उडान नियमित हुने गरेको छैन भने १० हजारसम्म एकतर्फी भाडा रहेकाले यात्रुलाई असुविधा भएको छ ।

धावनमार्गलाई ७२ सिटे जहाज बस्न सक्नेगरी स्तरोन्नति गर्नुपर्ने र नियमित उडान गरी भाडादर कम हुनुपर्ने माग स्थानीयको रहेको छ । यो विमानस्थल दाङको समृद्धिसँग जोडिएको प्रदेशसभा सदस्य मास्कीको भनाइ छ । वि.सं २०११ देखि सुरु भएको नेपालकै पुरानोमध्येको टरिगाउँ विमानस्थलमा नियमित उडान नहुँदा स्थानीयलाई असुविधा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *