अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ : उद्धव थापा

काठमाडौँ । कोशी प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले बहुमत पक्षले सरकार चलाउने बताएका छन् ।

बिहीबार प्रदेश सभा परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अल्पमत, बहुमत हुनु स्वाभाविक भएको बताउँदै संसारको मूल्य मान्यताअनुसार बहुमतले शासन गर्ने र अल्पमतले प्रतिपक्षमा बस्ने भएको बताए ।

उनले अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने नहुने बताए । उनले विधि र पक्रिया पूरा गर्ने बाटोबाट काँग्रेस अघि बढ्ने बताए ।

‘अल्पमत, बहुमत हुनु स्वाभाविक हो । संसारको मूल्य मान्यता के हो भने बहुमतले शासन गर्ने हो, अल्पमतले प्रतिपक्षमा बस्ने हो’उनले भने,‘तर अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने होइन, त्यसको प्रक्रियाहरू हुन्छन् । विधि, तरिकाहरू हुन्छन् । विधि र प्रक्रियाको बाटोबाट के गर्नुपर्छ, त्यो निर्णय र निष्कर्षमा पुग्नेछौँ ।’

कोशी प्रदेशमा नयाँ सत्ता समीकरणसँगै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएसँगै नेपाली काँग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेका छन् ।

उनले आफू संविधानको धारा ५ अनुसार मुख्यमन्त्री बनेको भन्दै आफूलाई समर्थन गर्नुको विकल्प नरहेको बताएका छन् । आफूले विश्वासको मत लिन नपर्ने र राजीनामा पनि नदिने अडान लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *