सुदूरपश्चिम सरकार गठनमा नयाँ ट्विस्ट : समाजवादीले फिर्ता लियो लक्ष्मण किशोरलाई दिएको समर्थन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा दिएको समर्थन र्फिता लिएको छ ।

सत्ता गठबन्धनका चार दलहरुबिच समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि समाजवादीले लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो । सत्ता गठबन्धनबिच सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि समाजवादीले समर्थन फिर्ता लिएको हो ।

समाजवादीका नेता दीर्घ सोडारी आफै प्रदेश प्रमुखको कार्यालयमा पुगेर समर्थन फिर्ता लिएका हुन् । बैशाख २ गते नेपाली काँग्रेस, समाजवादी र राप्रपाको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । काँग्रेसका १८, समाजवादीका ४, राप्रपा १ र आफ्ना ७ जना गरी उनले २९ जनाको समर्थन रहेको दाबी पेस गरेका थिए ।

समाजवादीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिने भएपछि अब लक्ष्मणकिशोरसँग २५ जना प्रदेश सभा सदस्य बाँकी रहन्छन् । तर उनकै पार्टीका ७ जनामध्ये २ जना उनलाई समर्थन नगर्ने पक्षमा छन् । बैठकमा समाजवादीले समर्थन फिर्ता लिने निर्णय भएपछि कुनै पनि दाबीकर्ताको स्पष्ट बहुमत नभएकाले प्रदेश प्रमुखले मुख्यमन्त्री दाबीका लागि थप समय दिनसक्छन् ।

बैशाख २ गते नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा १ जनाको निधन भएपछि अहिले ५२ प्रदेश सभा सदस्य छन्। सरकार बनाउन २७ सांसदको आवश्यकता पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *