एमाले सचिवालय बैठकको निष्कर्ष- सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक छ

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको बताएको छ ।

पार्टी मुख्यालय च्यासलमा आइतबार अपराह्न बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको निष्कर्ष निकालेका हुन् । बैठकले जनतामा अझ विश्वास जगाउने गरी काम गर्न पनि सरकारलाई सुझाव दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले अहिलेको निराशालाई चिर्दै देशलाई बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाडि बढाउने कुरामा एमाले केन्द्रित रहेको दाबी समेत गरे ।

उपमहासचिव ज्ञवालीले भने ‘हामीले संक्षेपमा पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि चर्चा गरेका छौ । गएको फागुन २१ गते नयाँ सत्ता समीकरण प्रारम्भ भएको छ । समग्रमा यो सकारात्मक छ । यसले देश जसरी बहुआयामिक समस्यामा फस्दै गएको थियो । त्यहाँबाट सही दिशातिर ल्याउन सफल भएको छ । र, यसलाई प्रभावकारी बनाउँदै, यसलाई सफल बनाउँदै हामीले हाम्रो राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, लोकतन्त्रलाई जनताको जीवनसँग जोडने, भ्रष्टाचार बिरुद्धको अभियानलाई अझ प्रभावकारी ढंगले लैजाने, अवरुद्ध विकासका कामलाई नयाँ गति दिने र सर्वोपरि रुपमा जनतामा एउटा विश्वास जगाउने, अहिलेको निराशालाई चिर्दै देश बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाडि बढाउने कुरामा हामी केन्द्रित छौं । बैठकमा हामीले त्यही विषयमा छलफल गरेको छौं । र सरकारका प्रारम्भिक गतिविधिहरू, अहिले सुरु गरेको स्पिरिडहरु सकारात्मक छन् । अझ बढी सरकारले जनतालाई विश्वास जगाउने गरी काममा अझ गति ल्याओस् भन्ने अपेक्षा छ ।’

एमालेले आफू नेतृत्वको नयाँ सत्ता समीकरणले देशलाई सही बाटोमा ल्याएको र विकास, निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने जिकिर गर्दै आएको छ । बैठकमा यही वैशाख ८ र ९ गते गोदावरीको सनराइज हलमा आयोजना गरिएको पार्टी महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने कामका समीक्षा सम्बन्धी प्रतिवेदन, पार्टीका चार वटा आयोगले पनि आफ्नो कामको प्रगति विवरण पेश गर्ने तय गरिएको पनि उपमहासचिव ज्ञवालीले बताए ।

एमालेलाई आगामी निर्वाचनमा राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउने गरी सो परिषद् बैठकमा छलफल हुने उनले बताए । सो महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा करिब २५ सय जति प्रतिनिधिहरू सहभागी हुने पनि एमालेले जनाएको छ ।

उपमहासचिव ज्ञवालीले भने ‘आजको बैठकको मुख्य एजेण्डाचाहीँ यही वैशाख ८ र ९ गते गर्न लागिएको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठकको एजेन्डाहरू बारे छलफल भयो । सो परिषद्को बैठक हामीले सनराईज हल गोदावरीबाट २०८१ साल वैशाख ८ गते बिहान ११ बजे सुरु हुनेछ । त्यो बैठकमा महाधिवेशनका प्रतिनिधिहरू २१५३ जना सहभागी हुनुहुनेछ । महाधिवेशनपछि थपिनुभएको केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकार परिषद्, निर्वाचन आयोग, अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका साथीहरू पनि त्यसमा सहभागी हुनुहुनेछ भने २५ सय जतिको यो कार्यक्रम हुन्छ । त्यसमा अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिवको कामको लेखाजोखा सम्बन्धी प्रतिवेदन र चार वटा आयोगको प्रतिवेदनमाथि व्यापक छलफल गर्छौं । र, हाम्रो पार्टीलाई निर्णायक राजनीतिक शक्ति आगामी निर्वाचनमार्फत निर्णायक राजनीतिक शक्ति बनाउनका निम्ति हाम्रा कामहरु के हुन भन्ने बारेमा छलफल हुनेछ । र १० गते हामीले हाम्रो पार्टी स्थापनाको ७५ औंं वर्ष पूरा भएर ७६ औं वर्षमा प्रवेश गर्दैछौं । त्यसमा विशेष इभेन्ट हामीले आयोजना गर्दैछौं । त्यसमा नेपाली कम्युनिष्ट आन्दोलनका अहिलेसम्मका इतिहास झल्काउने डकुमेन्ट प्रस्तुत गर्नेछौँ । झुलाघाट, चिवाभञ्ज्याङ संकल्प यात्रा, जाजरकोटलगायतका भूकम्पका बेला पार्टीले चलाएको स्वयंसेवक परिचालन, निर्वाचनलगायतका केही मेजर इभेन्टहरूमा पनि हुन्छ । देशका प्रमुख राजनीतिक दलहरूका नेताहरूले त्यहाँ सम्बोधन गर्नुहुनेछ । ’

त्यसैगरी सचिवालय बैठकले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा प्रमुख राजनीतिक दलहरूको सहभागितामा विशेष कार्यक्रम पनि वैशाख २० गते आयोजना गर्दैछ । त्यसमा प्रमुख राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने र कम्युनिष्ट पार्टीका मुख्यमुख्य गतिविधि समावेश गरेर बनाइएको डकुमेन्ट्री पनि प्रस्तुत हुने उपमहासचिव ज्ञवालीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *