नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : रवि लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।

शनिवार नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्न पुगेका उनले यस्तो बताएका हुन् ।

उनले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढंगबाट समाधान हुने प्रतिबद्धता जनाए । उनले कर्मचारीहरूमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि बताए । उनले काठमाडौं सहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताए ।

उनले काठमाडौं जिउँदो, जाग्दो सहर बनाउन आफूले काम गरिरहेको जिकिर गरे ।

उनले भने ‘सबै गुनासाहरू यथोचित ढंगले सम्बोधन हुन्छ, म जानकार छु, यसमा सबै समस्या समाधान हुनेछन् । सेवाअवधि लगायत सबै विषयहरू एकमुष्ट रुपमा सम्बोधन हुन्छ । राष्ट्रसेवकहरूलाई कहीँ कतै अन्याय नपरोस्, सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस् । कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभई जनताको सेवा गरेमात्रै संगठन बलियो बन्छ भन्ने सुनिश्चितता हुनेछ । अतिरिक्त सुरक्षा व्यवस्था छ, व्यवस्थापन चुस्त बनाइएको छ । सबैजना सुरक्षित हुनुहुन्छ, त्यसकारण सहर जिउँदो छ, उज्यालो छ । शहरमा राति, बिहान, साँझ कतै जानुपर्दा शहरमा खुला ठाउँहरू छन्, सुरक्षित छन् भन्ने सन्देश हरेक देशले दिइरहेको छ, त्यो हुनुपर्छ, आजको बदलिँदो परिस्थितिमा सात, आठ बजे अँध्यारो हुने भन्ने हुँदैन, व्यापार व्यवसाय चलोस्, मानिसहरूको चहलपहल होस् । सुरक्षामा पनि बल मिल्छ, रातिको समयमा पेट्रोल हाल्ने ठाउँ पनि थिएन, हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पम्पहरू २४ सै घण्टा खुलेका छन् । अन्य पनि खुल्ने क्रममा छन् भन्ने सुनेको छु । त्यसकारणले चलायमान भए अर्थतन्त्र पनि चलायमान हुन्छ, रोजगारीका अवसर पनि हुन्छन् । यो सहर जिउँदो, जाग्दो सहर क्रियाशील सहर हो भन्नेकुरा महसुस गराउनुपर्छ । नियम र कानुनहरू कडाईका साथ पालना हुन्छन्, नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन । प्रहरीको मनोबल अझ बढाउन सकियोस्, सुधारको काम अझै गर्न सकियोस् ।’

गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुसीयाली साटासाट गर्न आफू सडकमा आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *