वर्षान्त २०८०

गृहमन्त्रीलाई ठगीको आरोप, महरा सुन काण्डमा !

काठमाडौं । विगतका वर्षहरूझैँ यो आर्थिक वर्ष २०७९/८० पनि अपराधको सँगालोबाट टाढा रहेन । यस कालखण्डमा विभिन्न सामाजिक अपराध र दुर्घटनाहरू घटे । उक्त दुर्घटनामा धेरै मानिसहरूको ज्यानसमेत गुम्यो । ८० सालमा देशमा देशमा धेरै आर्थिक अपराधका घटना पनि घटे । सहकारी ठगी, मिटरब्याजी पीडितहरूको काठमाडौंमा सङ्घर्ष, सुन काण्ड लगायतका घटनाले देशमा चर्चा चुलियो । २०८० सालमा भएका केही चर्चित घटनाहरूको हामीले यहाँ प्रस्तुत गरेका छौं ।

प्रहरी प्रवक्ता डिआइजी भीम ढकालका अनुसार आर्थिक वर्ष २०७९/८० को साउनदेखि फागुन मसान्तसम्मको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै देखिएको अपराध ‘आर्थिक अपराध’ हो । उनका अनुसार यो आर्थिक वर्षमा २२ प्रतिशतले आर्थिक अपराध वृद्धि भएको छ । आर्थिक अपराधमा पनि बैंकिङ कसुर सम्बन्धी केस सबैभन्दा बढी देखिएको उनले बताए ।

यस वर्षमा आर्थिक अपराध अन्तर्गत देशमा थुप्रै घटनाहरू भएका देखिन्छन् । तराईका मिटरब्याजी पीडितहरू काठमाडौँमा आएर आन्दोलन गरेका, दुग्ध किसानहरू शीघ्र रकम भुक्तानीका लागि आन्दोलन गरेका, साथै लघुवित्त, सहकारी र सुन काण्डहरूले पनि सञ्चारमाध्यमहरू एकलौटी रूपमा प्रभुत्व नै जमाएको थियो । यस क्रममा गृहमन्त्री रवि लामिछानेको नामसमेत आर्थिक अपराधमा मुछियो । गृहमन्त्रीलाई सहकारीको लाखौँ रकम ठगी गरेको आरोप लाग्यो । उनले देशका विभिन्न सहकारीबाट जीवी राईसँग मिलेर रकम हिनामिना गरेको आरोप छ । जसको चर्चा संसददेखि सडकसम्मै छ ।

प्रहरीको तथ्याङ्कमा देखिएको आर्थिक अपराधमा जोडिएको एक चर्चित घटना हो, सुन काण्ड । सुन काण्डमा नेपालका हाई प्रोफाइल भएका नेताहरू पनि जोडिए । सुन काण्डमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन काण्डमा पक्राउ नै परे । अहिले पनि सुन काण्डको अनुसन्धान भइरहेको छ ।

यति मात्रै होइन, देशमा भुटानी शरणार्थी प्रकरणले पनि चर्चा पायो । देशका पुर्वगृहमन्त्री र मन्त्रीसमेतलाई जेलको यात्रा तय गरायो । पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण र एमालेका नेता टोपबहादुर रायमाझी समेत शरणार्थी प्रकरणमा जेलसम्म पुगे । खाँण छुटेपनि रायमाझी जेलमै छन् ।

प्रहरी प्रवक्ता डिआइजी भीम ढकालका अनुसार अपराध वृद्धिकै आधारमा ‘सार्वजनिक स्वास्थ्य सुरक्षा सुविधा विरुद्धको अपराध’ दोस्रो नम्बरमा पर्दछ । उनले उक्त अपराध १८ प्रतिशतले वृद्धि भएको बताए ।

आर्थिक वर्षमा चितवनमा जुटको बोरामा बाँधिएको अवस्थामा श्रीमान्, श्रीमतीको शव फेला, गोकर्णमा हात मात्र देखिनेगरि पुरिएको अवस्थामा किशोरीको फेला लगायतका घटनाहरू वीभत्सपूर्ण घटनाहरू भएका देखिन्छन् ।

अन्य अपराधहरूको वृद्धिदर
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा आत्महत्या ७.६३ प्रतिशतले बढेको छ । प्रहरी प्रवक्ता डिआइजी भीम ढकालका अनुसार भवितव्य अपराध ८.५६ प्रतिशत, लागु औषधका घटना ७.३५ प्रतिशत र चोरी ६.३१ प्रतिशतले वृद्धि भएको छ ।

यसै गरी जबरजस्ती करणी ४.२१ प्रतिशतले र ठगी २.८१ प्रतिशतले बढेको छ । सवारी दुर्घटनासम्बन्धी अपराध ३ प्रतिशतले वृद्धि भएको उनको भनाई छ ।

अपराध नियन्त्रण र न्यूनीकरणको प्रयास/योजना
प्रहरी प्रवक्ता डिआइजी भीम ढकालले आर्थिक वर्ष २०७९ /८० मा सार्वजनिक अपराध र आर्थिक अपराधलाई न्यूनीकरणका लागि प्रहरीले विभिन्न कामहरू गरेको बताए । ‘आगामी दिनमा हामी आर्थिक र सामाजिक अपराधहरूलाई नै केन्द्रमा राखेर काम गर्छौँ ।’ उनले भने ।

उनले आगामी दिनमा आर्थिक र सामाजिक अपराधलाई नै केन्द्रमा राखेर काम गर्ने बताए । उनले यस्ता अपराधसम्बन्धी उजुरी आएमा तुरुन्त पक्राउ गरी अनुसन्धान थाल्ने बताए । सार्वजनिक अपराध न्यूनीकरणका लागि गस्ती परिचालन गर्ने , सूचना सङ्कलन गरेर समाजमा शान्ति सुरक्षा कायम गर्ने प्रयास गरेको बताए । ‘आत्महत्या विरुद्ध पनि व्यापकरुपमा सचेतना अभियानहरू चलाएका छौँ ।’ उनले भने ।

उनले पछिल्लो समयमा समाजमा आत्महत्या सम्बन्धी थुप्रै घटनाहरू हुने गरेको बताए । उनले प्रहरीद्वारा आत्महत्या विरुद्ध परामर्श र सचेतनाका कार्यक्रमहरू व्यापकरुपमा सञ्चालन गरिरहेको बताए । उनले भने ‘आत्महत्या नगर्नका लागि अनुरोध गर्ने परामर्श दिने कामहरू गरिरहेका छौँ ।’

उनले समग्र अपराध नहोस् भनेर सूचना सङ्कलन, गस्ती परिचालन गर्ने , चेकजाँच बढाउने, प्रविधिको सहायता दिने र सुरक्षा निकाय वा अन्यसंस्थाहरूसंग समन्वयन गर्ने जस्ता कामहरू गरिरहेको बताए ।

अपराध नियन्त्रणका लागि प्रहरीको सुझाव
प्रहरी प्रवक्ता डिआइजी भीम ढकालले अपराध नियन्त्रणका लागि सर्वसाधारणलाई कानुनले गर्नु भनेको कामहरू मात्र गर्न र नगर्नु भनेको कामहरू नगर्न आह्वान गरेका छन् ।

उनले समाजमा हुनसक्ने विभिन्न विकृति, विसङ्गतिजस्ता अपराधहरू हुन नदिनका लागि आपसमा सल्लाह गर्ने, बैठक राख्ने र त्यसतर्फ चनाखो हुन् सबैलाई अनुरोध गरेका छन् ।

उनले कहीँ असुरक्षा महसुस भएमा, कुनै वस्तु वा व्यक्ति शङ्कास्पद लागेमा तुरुन्त प्रहरीलाई खबर गर्न र प्रहरीसँग नजिकमा रहन आग्रह गरेका छन् । उनले सम्पूर्णलाई प्रहरीले सधैँ सहयोग गर्न तयार रहेको बताउँदै नयाँ वर्षको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *