वैशाख ४ गतेदेखि १४ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड हुँदै

काठमाडौं । आगामी वैशाखको पहिलो सातामा लामो इतिहास बोकेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा आगामी वैशाख ४ गतेदेखि ६ गतेसम्म दशरथ रंगशालामा हुने भएको छ । सात सय ७३ वटा स्थानीय तहबाट छनोट गरिएको केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो ।

राखेपले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै यस संस्करणको बारेमा जानकारी दिएको हो । सात प्रदेशबाट १८ वर्ष मुनिका ६ सय ८६ खेलाडीले यस पटक चुनौती प्रश्तुत गर्न लागेका हुन् ।

यो प्रतियोगितामा कुल ६ वटा खेलमा प्रतिष्पर्धा हुँदै छ । छात्रा र छात्रले एथ्लेटिक्स, भलिबल, कराते, कबड्डी, तेक्वान्दो र उसु विधाका खेलमा प्रतिष्पर्धा हुनेछन् ।

एथ्लेटिक्समा छात्रा र छात्रमा गरी समान १३ स्वर्ण, कराते, तेक्वान्दो र उसुमा समान ६÷६ स्वर्ण गरी ३६ स्वर्ण, कबड्डी र भलिबलमा समान एक स्वर्ण गरी चार स्वर्णमा प्रतिष्पर्धा हुनेछन् ।

यो प्रतियोगितामा सहभागी हुने खेलाडीले यातायात खर्चका साथै दैनिक १३ सयका दरले भत्ता पनि पाउने राखेपका प्रतियोगिता संयोजक मीन शर्माले जानकारी दिए ।

हरेक विधामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन् । यद्यपि, उनीहरूले पाउने पुरस्कारबारे भने तय नभईसकेको शर्माले जानकारी दिए । तर तीन पटक च्याम्पियन टोलीले रनिङ शिल्ड पाउनेछन् ।

प्रतियोगितामा कीर्तिमान बनाउने खेलाडीले १५ हजार रुप्रयाँ नगद पुरस्कार पाउने बताए । यसअघि लुम्बिनी प्रदेशले तीन पटक च्याम्पियन भएपछि रनिङ शिल्ड आफ्नो बनाएपछि नयाँ रनिङ शिल्ड बनाइएको छ । प्रतियोगिताका लागि करिब एक करोड ५० लाख खर्च हुने राखेपले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको महत्व र स्थान धेरै उचो रहेको उल्लेख गर्दै यहाँबाट राष्ट्रिय टोली छनोटको माध्यमसमेत रहेको धारणा राखे ।

उनले सबै पक्षबाट यो प्रतियोगिाको सफल आयोजनामा सहयोग हुनुपर्ने र राखेपले पनि यो आयोजनापछि खेलाडीको गन्तव्य कहाँ हुने भन्ने रोड म्याप तयार पारिने विश्वास व्यक्त गरे ।

राखेप सदस्यसचिव घिसिङले यहाँबाट निस्किएका प्रतिभाशाली खेलाडीको संरक्षणका लागि संघहरू पनि जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *