छिटै वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउँदैछौँ : वनमन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा वनस्पति विभागको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वनस्पति विभागले गरिराखेका कामहरु थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । तत्काल वनस्पति ऐन आवश्यक रहेको र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रस्तावित वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउनु रहेको बताए ।
उनले जडीबुटी र सुगन्धित तेलको व्यापार प्रवर्द्धनमा निरन्तरता दिनुपर्ने बताए । उनले मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरू दिनप्रतिदिन संकटमा परिरहेको बताए । उनले बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवद्र्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौती रहेको बताए । उनले राष्ट्रिय वनस्पति उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरूलाई समेत समय सापेक्ष रुपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक रहेको उल्लेख गरे ।
उनले भने ‘वनस्पति विभागले गरिराखेका कामहरु थप प्रभावकारी बनाउन र आम जनसमुदायसम्म पुर्याउन तत्काल वनस्पति ऐन आवश्यक रहेको र मेरो र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रस्तावित वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउन रहेको छ ।’
मन्त्री सुडीले वनस्पति विविधताको अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजालाई जनस्तरसम्म पुर्याइ स्थानीयको जीवनस्तर सुधार गर्न आवश्यक रहेको बताए ।








