काँग्रेसले रास्वपामाथि राजनीतिक कुण्ठा पोख्यो : मनिष झा

काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहकारी ठगी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय नबनाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।
उनले सहकारीलगायतका सबै भ्रष्टाचारको अनुसन्धानका लागि तयार हुन पनि सबै राजनीतिक दलहरुलाई अनुरोध गरे ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले आफ्नो पार्टीले भ्रष्टाचार र बलात्कारको अन्त्यका लागि संसद र सरकारलाई पटकपटक सुझाव दिएको पनि स्मरण गराए ।
‘आउनुस–कानूनी रुपमा जाउ । आउनुस प्रक्रियागत रुपमा जाउँ । कति कुण्ठा पालेर बस्नुहुन्छ ? त्यसैले यस्तो राजनीति नगरौं । सरकारमा हामी संलग्न भएपनि, नभएपनि यो देशमा भ्रष्टाचारीलाई, बलात्कारीलाई सजाय दिनुपर्छ उनले भने, ‘कृपया, त्यो नहटाईदिनुस भनेर सरकारलाई भन्यौं । हामीले लेखेका छौ कि सबै भ्रष्टाचारका फाईलहरु खोलौै । र भ्रष्टाचारको अनुसन्धान गर्ने संयन्त्रहरुलाई अझ सशक्त बनाऔं ।’
उनले आफ्नो पार्टीको सुशासनमाथिको प्रतिवद्धतामा शंका गर्नुपर्ने कुनै कारण नरहेको बताए ।
सांसद झाले देशलाई यही व्यवस्था भित्र सुशासनको माध्यामबाट अघि बढाउने लक्ष्यका साथ आफ्नो पार्टी अगाडि बढेको दाबी समेत गरे ।
‘सहकारीको सबै मुद्दाहरुको छानविन गरेर निराकरणको प्रश्ताव पनि राख्यौं उनले भने,‘हामीले कहिले छानविन नगरौं भनेर भनेका छौं ? ल आउनुस् अब हामी एक ठाउँमा आईपुगेका छौं । २०४७ पछिको सबै फाईल खोलौं ।’
सांसद झाले भ्रष्टाचारको अन्त्यको अभियानमा सबै दलहरु एक हुनुपर्नेमा पनि जोड दिए ।








