हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी लगानीमैत्री वातावरण सिर्जना गर्छाैँ : उद्योगमन्त्री

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योग, लगानीमैत्री वातावरण सिर्जना गरिने बताएका छन् ।
सोमवार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको काठमाडौँमा भएको १८ औं वार्षिक साधारण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले सरकारले उद्योगमैत्री कानुन बनाएर अन्तिम चरणमा पुर्याएको दाबी गरे । उनले सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएका सम्भावनालाई पूरा गर्नेगरी काम भइरहेको बताए ।
उद्योगमन्त्री भण्डारीले समयाअनकुल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयाअनकुल अगाडि बढाउने बताए । मन्त्री भण्डारीले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडीबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने उल्लेख गरे । उनले करको विषयमा उद्योगी व्यवसायीहरूका असहमतिलाई नीतिगत रुपमा समाधान गर्नेगरी बजेट आउने जानकारी दिए ।
उनले विश्व बजारसँग प्रतिस्पर्धा गर्न नेपालको प्राकृतिक सम्पदा र स्रोतहरूमा बढी केन्द्रित वस्तुहरू उत्पादनमा जोड दिनुपर्नेमा उल्लेख गरे । उनले नेपालमा यही क्षेत्रमा रोजगारी सिर्जना गरी नेपाली उत्पादनहरूलाई निर्यात गर्ने वातावरण बनाउनु पर्ने बताए । उनले उद्योग नीतिमा भएका अस्पष्टताहरूलाई सरकारले चाँडै समाधान गर्ने प्रतिबद्धता जनाए । १० वटा उद्योगसँग सम्बन्धी ऐनहरू संशोधन गरेर उद्योगी व्यवसायीहरू उद्योग मन्त्रालय आएर मागहरू पूरा गरौं भन्ने देउसीभैलीको अन्त्य गरी ढुक्कले लगानी गर्ने वातावरण सिर्जना गरिने उनको भनाई थियो ।
उनले भने ‘उद्योगमैत्री कानुन बनाउने अन्तिम चरणमा पुगेका छौं । त्यसको प्रक्रियामा अगाडि बढेका छौं । यही संसदको अधिवेशनमा उद्योग मन्त्रालयको तर्फबाट १० वटा कानुनहरू संशोधनको प्रक्रियामा अगाडि बढाएका छौं । त्यसमा सरकारको छुट्टै छैन ।’
मन्त्री भण्डारीले बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरू ल्याउन लागेको पनि बताए । उनले स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री नेपाली अभिवृद्धि कार्यक्रम ल्याउन लागेको जानकारी दिए । उनले स्टार्ट अफ नीति यो महिनाको अन्त्यमा कार्यान्वयनमा ल्याउने तयारी रहेको पनि बताए ।








