मधेसका जनताकै कारण देशमा संघीयता आएको हो : मुख्यमन्त्री यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले देशमा संघीयता मधेस प्रदेशका जनताकै कारण आएको बताएका छन् ।
उनले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताएा हुन् ।
‘देशमा संघीयता ल्याउने मधेस प्रदेश नै हो । मधेस प्रदेशका हामी सम्पूर्ण जनताले आन्दोलन गरेबापत यो देशमा संघीयता आएको हो’उनले भने ‘संघीयता आएपछि यो मधेस प्रदेशमा जुन विकास भएको छ नि, संघीयता आएपछि नै भएको हो ।’
उनले संघीयता भएपनि संघ सरकारल अधिकार हस्तन्तरण नगरेको बताए । उनले संघीयता सबैलाई चाहिने भएपनि कार्यान्वयन गर्न नसकेको जिकिर गरे ।
संघीयता मधेसलाई नै चाहिएको उल्लेख गर्दै उनले स्थानीय तह र प्रदेश सरकारलाई एक जुट भएर अघि बढ्नुपर्ने बताए ।
‘बहुदल व्यवस्था ३२ वर्ष बढी भइसक्यो यो देशमा २५ वर्षमा मधेसमा बहुदलिय व्यवस्था भएपनि विकास हुन सकेको छैन । बहुदल आएपनि मधेस प्रदेशका जनतालाई विभेद गरेर राखेकै हो त’उनले भने ‘आज पनि संघीयता भएपनि संघ सरकारले जुन प्रकारको अधिकार दिनुपर्ने हो, उनीहरुले नै बनाएको संविधान हो, अधिकार दिएका छैनन् । अहिले बनेको संविधान मधेस प्रदेशका जनताले स्वीकार गरेको संविधान होइन । हामीमाथि लादेको हो । त्यही कार्यान्वयन गर्न पनि सरकारको कठिनाइ छ ।’
स्थानीय तहको परिषद बैठकमा समेत प्रदेशसभा सदस्यहरुलाई प्रतिनिधित्व गराउन आग्रह गर्दै मुख्यमन्त्री यादवले प्रदेशको प्रतिनिधित्व गराईए स्थानीय तहलाई फाइदै हुने बताए ।








