कर्णालीमा माओवादीले भन्यो- राजनीतिक सन्तुलन मिलाउन विश्वासको मत लिन्छौं, बरू भोलिपल्टै राजीनामा दिन्छौं

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सभा दलले मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएर मात्र राजीनामा दिने निष्कर्ष निकालेको छ।

मंगलबार एमाले र माओवादीबीच पटकपटक भएको छलफल निष्कर्षविहीन भएको छ। माओवादीले यही अडान राखेपछि एमालेले आफ्नो निर्णय गर्न सकेको छैन।

माओवादीको कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक रणसिं परियारले राजनीतिक सन्तुलन मिलाउनका लागि पनि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बताए। विश्वासको मतपछि राजीनामा दिने लिखित सहमति चाहे पनि तयार रहेको उनले बताए।

‘हामीले राजनीतिक सन्तुलन मिलाउने कुरामा मात्र विश्वासको मत लिन खोजेको हो, नत्र विश्वासको मत नपाउने भएपछि राजीनामा दिएको भन्ने भ्रम पर्छ,’ परियारले भने, ‘बरू भोलि विश्वासको मत लिएर पर्सी नै राजीनामा दिनुपर्ने भए पनि हामी तयार छौं, यसको लागि लिखित मागे पनि दिन्छौं।’

उनले केन्द्रले गरेको निर्णयको अवज्ञा प्रदेशबाट आफूहरूले नगर्ने बताए। केन्द्रको सहमतिअनुसार दुई वर्षपछि पुनः माओवादीले कर्णालीको नेतृत्व गर्ने सुनिश्चितता भइसकेकाले विश्वासको मत पाएलगत्तै राजीनामा दिन मुख्यमन्त्री तयार रहेको परियारले बताए।

उनका अनुसार अहिलेसम्मको छलफलमा नेकपा एमालेले मुख्यमन्त्री विश्वासको मत लिने भएमा आफूले नदिने बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *