समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ भन्ने तर्कहरू गलत : नेत्रविक्रम चन्द

काठमाडौँ । समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिलेका असन्तुष्टिहरूलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव रहेको उल्लेख गरे । उनले गणतन्त्रबाट विभिन्न उपलब्धि प्राप्त भएपछि पूर्ण हुन नसकेको जिकिर गरे ।
उनले समाजवादीहरू, कम्युनिस्टहरू, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बीचमा स्थापित गर्ने ? जनतालाई कसरी सुरक्षित गर्ने ? भन्नेकुरा मूल कुरा बनाएर अघि बढाउन जरुरी रहेको बताए ।
उनले समाजवादी मोर्चाले अस्थिरता ल्याउने नभई स्थिरतातिर देशलाई अघि बढाउने दाबी गरे । उनले आज भइरहेका असन्तुष्टिहरू, समस्याहरूलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढंगले समाधान गर्न समाजवादी मोर्चाले भुमिका खेल्ने बताए ।
उनले भने ‘हामी समाजवादीहरू, कम्युनिस्टहरू, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बीचमा स्थापित गर्ने ? जनतालाई कसरी सुरक्षित गर्ने ? यो विषयमा हाम्रो समाजवादी मोर्चाले एउटा स्पष्ट दृष्टिकोण दिएको छ की आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव छ ।’
उनले भने ‘समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ की भन्ने आदि इत्यादिका तर्कहरू पनि हामी सुन्ने गर्दछौँ । होइन त्यो कुरा । ’
नेपालका कानुनी, प्रशासनिक, रोजगारी, उद्योग लगायतका क्षेत्रका समस्याहरूको पहिचान गरी समाधान गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए । उनले आगामी दिनमा नयाँ शासन व्यवस्था, अर्थ व्यवस्थाको बहसबारे छलफल हुनुपर्ने बताए ।








