किन बढ्यो नागरिकता परित्याग गर्नेको संख्या बढ्यो ?

काठमाडौं । मोरङ जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्दै गएको स्थानीय प्रशासनले जनाएको छ ।

स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा पनि वृद्धि भएको जिल्ला प्रशासन कार्यालय मोरङको नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले जानकारी दिए । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको संख्या जिल्लामा वर्षेनी बढ्दै गएको हो ।

मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले मात्रै नागरिकता परित्याग गरेका थिए । मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तवरले राख्न थालेको हो । त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको स्थानीय प्रशासनले जनाएको छ ।

निरौलाका अनुसार गत वर्ष भन्दा यस वर्ष नागरिकता परित्याग गर्नेको संख्या बढेको छ । गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्नेहरुले नागरिकता परित्याग गर्ने गरेका थिए ।  ‘यस वर्षबाट भने गैरआवासीय नेपाली नागरिकले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढेको हो,’ निरौलाले भने ।

एनआरएनको नागरिकता लिनेमा महिला र पुरुषको संख्या बराबर रहेको उनले बताए । वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दो छ ।

विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बताए । ‘विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता परित्याग गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसबाहेक भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता परित्याग गर्नेको संख्या पनि केही मात्रामा छ ।’

लामो समयदेखि वैदेशिक रोजगारका साथै डीभी-पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गर्ने गरेका छन् । युरोप, अमेरिका लगातय विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको उनले बताए । झट्ट हेर्दा संख्या थोरै देखिए पनि मुलुकभर वार्षिक रूपमा भने करिव आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका सरकारी तथ्यांक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *