सशस्त्र प्रहरीको एक प्लटुन फौज २४ सै घन्टा सीमा गस्तीमा

अब सशस्त्र प्रहरी बलको एक प्लटुन फौज २४ सै घन्टा सीमा गस्तीमा खटिने भएको छ ।

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरीले २४ सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनको लागि ‘सीमा पैदल गस्ती परिचालन सम्बन्धी अवधारणा पत्र, २०८०’ तयार गरी लागू गरेको हो ।

अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन मार्फत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्र तयार गरी लागू गरेको छ । योसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लटुन टोली २४ सै घण्टा सीमा गस्तीमा तैनाथ रहनेछ ।

सीमासँग जोडिएका जिल्लाहरूका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजश्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा गस्ती अन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेसहरू समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोवस्तीका सामाग्रीसहित परिचालन हुने सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै आवश्यक अनुसार स्थानीयवासी, जनप्रतिनिधि, अन्य निकाय तथा समकक्षीहरूसँग भेटघाट, अन्तरक्रिया, विपद् जोखिम न्यूनीकरण, मानव बेचबिखन तथा सीमा अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्नुकासाथै तराईका जिल्लाहरूमा मात्र नभई समयको अनुकूलता हेरी अन्य सीमावर्ती जिल्लाहरूमा समेत सीमा पैदल गस्ती गरिने सशस्त्र प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *