०८१/०८२ भित्र किसान परिचय पत्र वितरण गर्नेगरी काम गर्छौँ : कृषिमन्त्री

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले ०८१/०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने बताएकी छन् ।

सोमवार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषि सम्बन्धी बजेट तथा कार्यक्रम सम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले किसानहरूको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताइन् । उनले मन्त्रालय किसानहरूलाई पहिचान गरी किसान परिचय पत्र दिनेगरी लागिपरेको बताइन् । उनले सबैजना एकाकार भएर फौजी तरिकाले कम गर्ने हो भने किसानको समस्या समाधान गर्न सकिने बताइन् ।

उनले भनिन् ‘हामी किसानहरूको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा हामी दिनरात मेहनत गरिरहेका छौँ । हुनत म मन्त्रालय सम्हालेको २० दिन जति भयो । किसानहरूलाई पहिचानका लागि किसान परिचय पत्र दिनेगरी लागेका छौँ । कम्तीमा हामी यो ०८० चलिरहेको छ, ०८१÷०८२ भित्रमा किसानहरूलाई पहिचान गर्नेगरी परिचय पत्र पनि दिइसक्नुपर्छ । त्यो दिने वातावरण नीतिगत रूपबाट हामीले सबैजना सहमत हुनुपर्छ । सबैजना एकाकार भएर फौजी टाइपको काम गर्नुपर्छ । हिमालमा च्याङ्ग्रा हुन्छ, यार्सागुम्बा हुन्छ, अरुअरु जडीबुटी हुन्छ भने त्यसमा किन हाम्रो तर्फबाट हामीले किन साथ नदिने त । त्यसको लागि हामी बजेटबाट हुन्छ की, वा हामी भौतिक हिसाबबाट अनुगमन गरेर हुन्छ, के गरेर हुन्छ, त्यसमा हामी जोड दिएर कम्तीमा च्याङ्ग्रा पालनमा पनि हाम्रो किसानहरूलाई प्रोत्साहन दिनेगरी कार्यक्रम समावेश हुनुपर्छ ।’

मन्त्री साहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी रहेको बताइन् । उनले सुन्तलालाई चाँडै नै मन्त्रीपरिषद्बाट पारित गर्न लागेको बताइन् ।

उनले भनिन् ‘सुन्तलाको हिसाबले पनि म केही दिनमा मन्त्रीपरिषद्बाट पास गर्ने प्रक्रियामा पनि लागेको छु । किनकि नेपालमा सुन्तला मिठो फलको रुपमा पनि छ । त्यो फल खान पनि सजिलो छ । गाडीमा बस्दाखेरी पनि अब ५÷६ जना बसेपनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरू परेन । त्यो हिसाबले राष्ट्रिय फलफूलको हिसाबले लैजाने म आफ्नो ठाउँबाट प्रयत्न गर्दैछु । त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु ।’

मन्त्री ज्वालाले २ लाख हेक्टर बाँझो जग्गालाई प्रयोगमा ल्याउनसके कृषि उत्पादनमा वृद्धि ल्याउन सकिने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *