ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने तयारी, एक हप्ताभित्र पूर्णता दिइने

काठमाडौँ । सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी गरेको छ ।

सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २४ सै घण्टा व्यापार व्यवसायी सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरूसँग काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका हुन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी थालेको छ । ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ ।

सोमवार सम्बन्धित निकाय र व्यवसायीहरूसँगको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सैं घण्टा खुलाउने तयारी रहेको बताए । उनले सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने बताए ।

उनले व्यापार व्यवसाय सञ्चालनको लागि व्यवसायी र स्थानीय बासीहरू सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिइने बताए । प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसायीहरूले वस्तु तथा सेवामा दिउँसो र रातीको मूल्य फरक बनाउन नपाउने बताए ।

उनले यस्ता हरेक कुराहरूलाई व्यवसायीहरूले ख्याल गरेर जानुपर्ने अवस्था रहेको बताए । उनले २४ सै घण्टा बजार खुला गरेपछि ग्राहक सेवाग्राही वृद्धि हुने बताए । साथै अहिलेको भन्दा अपराधीक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोही अनुसारको सुरक्षा प्रणाली विकास गरिने बताए । उनले व्यवसायीहरूले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुनेगरी ध्वनि प्रदूषण गर्न नपाउने पनि बताए ।

उनले भने ‘सरकारले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीमा छौं । व्यवसायीहरूले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन पाइँदैन । यस्ता हरेक कुराहरूलाई व्यवसायीहरूले ख्याल गरेर जानुपर्ने हुन्छ । सुरक्षाको हिसाबमा हामीले पहिलो जिम्मेवारी व्यवसाय सञ्चालकको हुनेछ । आन्तरिक सुरक्षा प्रणाली व्यवसायी आफैँले गर्नुपर्छ । दुवै क्षेत्रमा व्यवसाय व्यवस्थापन समिति बनाउने छौं । अहिले भइरहेका समितिले व्यवस्थापन गर्नसक्छ भने त्यसैलाई निरन्तरता दिन्छौँ । अन्य सुरक्षाको लागि नेपाल प्रहरी र महानगर प्रहरीले हेरिरहेको छ । सबै २४ सै घण्टा खुला गरेपछि ग्राहक सेवाग्राही बढ्छन् । अपराध पनि बढ्छ भन्ने अनुमान गरिरहेका छौं । सुरक्षाको लागि थप परिचालन बढ्छ । त्यही अनुसारको एकीकृत सुरक्षा योजना बनाउँछौँ । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुनेगरी ध्वानी प्रदूषण गर्न पाइँदैन । व्यवसायी आफैँले अरूलाई असर नपर्ने गरी व्यवस्थापन गर्नुपर्छ । त्यसको लागि अन्य रेगुलेसन गर्नुपर्ने अवस्था नआओस् ।’

बैठकपछि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएको बताए । उनले उक्त मागलाई सुरक्षा परिषद् र जिल्ला प्रशासन कार्यालयले परिमार्जन गरी ठमेल र दरबार मार्गलाई सुरक्षित र व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने विषयमा छलफल भएको बताए । उनले व्यवसायी र अन्य क्षेत्रले दिएका सुझावहरूको आधारमा आगामी तीन दिनभित्र टुङ्गो लगाउने विषयमा पनि छलफल भएको बताए । उनले अबको एक हप्ताभित्र पूर्णता पाउने विश्वास रहेको बताए ।

दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ घण्टा खुला गर्न हरेक हिसाबले उपयुक्त रहेको बताए । उनले ७० मिटरको क्षेत्रफलमा सबै संरचनाहरू तयारी अवस्थामा रहेकाले सरकारले तत्काल २४ सै घण्टा खुला गर्दा कुनै समस्या नपर्ने बताए ।

उनले दरबार मार्गलाई २४ सै घण्टा खुला गरी नाइट वाक क्षेत्र बनाउन आवश्यक रहेको पनि बताए । उनले सरकारले दरबार मार्गलाई २४ सै घण्टा खुला गर्नेकुरा स्वागतयोग्य रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *