नेपाल कुस्ती संघको अध्यक्षमा प्रकाशकुमार कुसारी चयन

काठमाडौँ । प्रकाशकुमार कुसारीको अध्यक्षतामा आगामी पाँच वर्षका लागि नेपाल कुस्ती संघको नयाँ नेतृत्व चयन भएको छ ।

आइतबार लाजिम्पाटमा सम्पन्न संघका साधारणसभा तथा निर्वाचनले कुसारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यसमेत हुन् ।

संघको कुल २७ सदस्यीय कार्यसमिति रहनेछ भने बाँकी १२ पदमा पछि मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष कुसारीले जानकारी दिए । संघको उपाध्यक्षमा निर्मल सिग्देल, मुकेश साह र सूर्यन्सकुमार चौधरी तथा महासचिवमा खगेन्द्रबहादुर बस्नेत निर्वाचित भएका छन् ।

संघको विधानअनुसार वरिष्ठसहित कम्तीमा एक महिला गरी पाँच उपाध्यक्ष रहने व्यवस्था छ । संघको पहिलो कार्यसमिति बैठकले महिला उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष मनोनीत गर्ने भएको छ । उपमहासचिवमा चितवनका साजन अधिकारी सर्वसम्मत चयन भएका छन् ।

कार्यसमितिले थप एक जना उपमहासचिव मनोनीत गर्न पाउने व्यवस्था छ । सचिवमा सरोज कटुवाल र सूर्यनारायण साह तथा कोषध्यक्षमा विपुल पौडेल निर्वाचित भएका छन् । यो कार्यसमितिमा थप तीन जना सचिव नियुक्त हुनेछन् ।

साधारण सभा र निर्वाचनले संघको सदस्यहरूमा ऐटन मल्ल, सुदीप केसी, अनित न्यौपाने, उपेन्द्र श्रेष्ठ, विक्रमसागर पोख्रेल र लक्ष्मी उराउलाई सर्वसम्मत निर्वाचित गरेको छ । नयाँ कार्यसमितिको बैठकले थप ६ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था रहेको छ । त्यसअघि उक्त साधारणसभाको राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, सदस्य अन्जन धमला, नेपाल ओलम्पिक कमिटीका उपमहासचिव पीताम्बर तिम्सिना र नेपाली राष्ट्रिय कुस्ती टोलीका वरिष्ठ प्रशिक्षक मुमताज अलीको उपस्थितिमा उद्घाटन भएको थियो ।

निर्वाचित कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद्का कानुन शाखा प्रमुख तथा निर्वाचन समितिका संयोजक नारायणराज अर्यालले पद तथा गोपिनीयताको शपथ ग्रहण गराएका कथिए ।

अर्यालको नेतृत्वमा रहेको निर्वाचन समितिको सदस्यमा राखेपका अधिकृतद्वय चन्द्रकुमार राई र ओमनाथ न्यौपाने, अधिवक्ताद्वय प्रदीप सापकोटा र सन्तोष आचार्य थिए । अध्यक्ष पदमा निर्वाचित भएसँगै कुसारीले देशका हरेक कुनाबाट खेलाडी उत्पादनसँगै प्रशिक्षक र निर्णायकको अभिवृद्धि लगायतमा आगामी चार वर्ष यो नेतृत्वले काम गर्ने संकल्प व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *