‘सत्ता परिवर्तन गर्ने जस हामी दुई भाइलाई दिनुस्’

काठमाडौं । नेकपा (एमाले) का एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण निर्माणमा बाह्य शक्तिको हात नरहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरण निर्माण गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले गरेको बताएका हुन् ।
नयाँ सत्ता समीकरण निर्माणको काम मुख्य पात्र प्रधानमन्त्री प्रचण्ड भएको र साथ दिने आफू पनि रहेको अध्यक्ष ओलीको दाबी थियो ।
‘हाम्रो देश भित्रका कामहरु त हामीले गरेको भने हुन्छ । को आयो, कुन देश आयो, कसले गर्यो ? कहाँ अर्कालाई जस दिएको ? हामीले गरेको’उनले भने ‘प्रचण्डजी मुख्य हो यो परिवर्तन गर्ने । साथ दिने म पनि हो । दुई भाइलाई जस पनि हुन्छ नि अलिकति ।’
उनले नयाँ सत्ता समीकरण निर्माणको जस छिमेकी मित्रहरूलाई दिने काम नगर्न पनि काँग्रेसलाई आग्रह गरे ।
अध्यक्ष ओलीले राम्रो कामको जस काँग्रेस एक्लैले लिने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
‘राम्रो काम जति सबै आफूले गरेको भन्छ नेपाली काँग्रेस । राम्रो जति सबै आफैले गरेको’ओलीले भने‘अरूलाई एक छेउ जस दिन्छ ? यस पल्ट पनि नेपाली काँग्रेस मात्रै होइन, अरुअरु यसो छरछिमेकका मित्रहरू पनि यतिको काम त हामीले गरेको भनेर जस दिए हुन्छ नि ।’








