लेजेन्ड्स कपको पहिलो खेलमा पारस खड्काको टिम विजयी

काठमाडौं । एक्स्ट्राटेक लेजेन्ड्स कपअन्तर्गतको पहिलो खेलमा सन २०१४ ट्वान्टी–२० विश्व कपमा सहभागी टिमले विजयी भएको छ ।
एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा एलबी क्षेत्रीको नेतृत्वमा रहेको सन् १९९६ लिजेन्ड टिमलाई पूर्वकप्तान पारस खड्का नेतृत्वको सन् २०१४ लेजेन्ड्स टिमले ५ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको सन् १९९६ टिमका लागि राजु खड्काले २० बलमा २७, मनिषराज पाण्डेले ७ बलमा ११ र जगत टमटाले ६ बलमा ९ रन बटुलेका थिए । सन २०१४ टिमका लागि बलिङतर्फ शक्ति गौचनले २, सामसुङजंग थापाले २ र गायक बद्री पङ्गेनीले १ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको सन् २०१४ टिमले जित प्राप्त गर्न अन्तिम ओभरसम्म खेलेका थिए । सन २०१४ का लागि वीरेन्द्र शाहले ३५, दीपेन लामगाङ्देले ८ र शरद भेषावकरले ६ रन जोडेका थिए ।
सन् १९९६ टिमका लागि भेट्रान बसन्त शाही ठकुरीले ३, लेकबहादुर क्षेत्री र किरण रानाले १–१ विकेट लिएका थिए ।








