पदाधिकारीमाथि आक्रमण हुनु आपराधिक घटना हो, दोषीलाई कारबाही हुन्छ : राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठ माथि आक्रमण हुनु आपराधिक घटना भएको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरूको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्षभित्र श्रेष्ठमाथि हातपात गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु आपराधिक घटना भएको बताए ।

उनले पार्टीले दोषीउपर कारबाही हुनुपर्ने निर्णय गरेको पनि बताए । उनले पार्टीले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय भएको बताए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरूमा छलफल भएको बताए ।

त्यस्तै बैठकमा नवीन राप्रपा कार्ययोजनाको सन्दर्भमा पनि छलफलहरू भइराखेको उनले जानकारी दिए ।

उनले भने ‘देशको समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरूमा, नवीन राप्रपा कार्ययोजनाको सन्दर्भमा व्यापक छलफलहरू भइराखेको छ । अहिले पछिल्लो समयमा समसामयिक राजनीतिक परिस्थिति र आन्दोलनको बारेमा कुरा राख्ने क्रम चलिराखेको छ । भोलि अरु सबै निष्कर्षहरू आउँछन् । झडप अप्रत्याशित रुपमा भयो । किन भयो भन्ने कुराको खोजीनिती पनि भइराखेको छ । त्यो राजनीतिक र पदाधिकारीबीचको विवाद भन्दापनि अलग ढंगले भएको हुनाले प्रहरीलाई हामीले अनुसन्धान गर्न आग्रह गरिसकेका छौँ । र बैठकले त्यसप्रति खेद व्यक्त गरेको छ । पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीलाई, कार्यसम्पादन समितिको सदस्यलाई अप्रत्याशित रुपमा जुन आक्रमण भएको छ, सिसिटिभी फुटेज, अन्य सञ्चार माध्यममा आएको भिडियो समेतलाई लिएर अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने भन्ने समेत निर्णय भइसकेको छ । त्यो नितान्त आपराधिक घटना हो । त्यसमा कारबाही हुनुपर्छ भन्ने हाम्रो निर्णय भएको छ ।’

शनिवारदेखि जारी राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमवार पनि बस्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *