नयाँ गठबन्धन बनेपछि झलनाथ उत्साहित, भने- ‘भाग पाए सरकारमा जान्छौँ’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताएका छन् ।
सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रस्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जानसक्ने बताएका हुन् । मङ्गलवार अपराह्न डल्लुस्थित आफ्नै निवासमा उनले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने सर्त समेत राखे ।
बुधवार (भोलि) बिहान सो पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौँ भन्ने खाका प्रस्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया दिए । सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उनको अडान थियो । सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले सहमतिका साथ जानका लागि गरिएको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताए ।
उनले भने ‘अब अहिले जुनजुन पार्टीहरूको बीचमा एउटा समझदारी बनेर यो परिवर्तनको क्रम सुरु भएको छ । त्यसमा औपचारिक रूपले हाम्रो पार्टी छैन । र व्यक्तिव्यक्तिले के के भुमिका खेले होलान् । त्यो भिन्दै कुरा भयो । तर औपचारिक रुपमा पार्टीलाई यस प्रोसेसमा संलग्न नगराइएको परिस्थिति निर्माण भएको हुनाले अव हामीले सामान्यतया यो घटनाक्रमलाई हामी विरोध गर्दैनौँ । र हामी यो घटनाक्रमलाई गहिरोसँग वाच गरिरहेका छौं । विश्लेषण पनि गर्दैछौं । यदि यो प्रोसेसमा हाम्रो पार्टीलाई संलग्न गर्नुपर्छ भन्ने आवश्यकता यो परिवर्तन गर्ने पार्टीहरूको बीचमा त्यो समझदारी बन्यो । हामीसँग पनि वार्ता भयो । र एउटा सम्मानजनक ढंगले सहमति गरेर जाऊ भन्ने खालको कुरा आयो भने हामी त्यसलाई अस्वीकार गर्दैनौँ । यसलाई सकारात्मक ढंगले नै लिन्छौँ । तर हामीलाई संलग्न गरिदिनोस भनेर त्यो याचना गर्न चाहिँ जान्दैनौँ । हाम्रो पार्टी एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न पार्टी हो । र हामी यो देशलाई समाजवादतर्फ लैजानुपर्छ भन्ने कुरामा अत्यन्त दृढ छौं । र, अहिले यो जे तन्त्र आएको छ । यो पुँजीवादी लोकतन्त्र हो । यो लोकतन्त्रले जनताका समग्र समस्या समाधान गर्नै सक्दैन । जबसम्म हामी समाजवादमा पुग्न सक्दैनौँ, तबसम्म न आजका यी शोषण अन्त्य हुन्छन्, न विभेद अन्त्य हुन्छ । न भ्रष्टाचार अन्त्य हुन्छ । न बेरोजगारी अन्त्य हुन्छ । न अर्थतन्त्रमा गति आउँछ रु अथवा न उत्पादक शक्तिहरूले विकास गर्न पाउँछन् । न राष्ट्रियता नै सुदृढ हुन्छ । त्यसो हुनाले समाजवादको बाटोतर्फ जानुपर्छ भन्ने कुरामा हाम्रो पार्टी दृढ छ । र त्यो ढंगले हामी अगाडि बढ्छौँ । तर हामी साझा सवालमा वामपन्थी एकता गरेर जानुपर्छ भन्ने कुरामा उत्तिकै दृढ छौं । र साझा सवाल हामीमाझ प्रचुर विद्यमान छन् । यी कुराहरूमा एकताका लागि हाम्रो प्रयत्न फेरि पनि जारी रहन्छ । हामी उहाँहरुले औपचारिक रूपले हाम्रो पार्टीलाई पनि सरकारमा संलग्न गर्नेकुरा गर्नुभयो । सम्मानजनक ढंगले हाम्रो पार्टीसँग वार्ता भयो । र हामी नीतिगत कुरामा, कार्यक्रमिक कुराहरूमा, योजनाका कुराहरूमा र भिजनका कुराहरूमा यसरी जान्छौँ भन्ने कुरा हामी बीचमा भयो भने हामी सरकारमा संलग्न भएर पनि जान्छौँ ।’
सम्मानित नेता खनालले आफ्नो पार्टीले वाम एकताको पक्षमा भईरहेको प्रयत्नलाई झनै प्रखर ढंगले अघि बढाउने बताए । उनले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई सङ्कटबाट जोगाउने आशा आफूहरूमा पलाएको समेत बताए ।








