बागलुङको पाँच सामुदायिक विद्यालयलाई वडा कार्यालयबाट ‘ल्यापटप’

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ को वडा कार्यालयले वडाभित्र रहेका पाँच सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ ।
विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा ल्यापटप वितरण गरिएको हो । प्राथमिक तह सञ्चालनमा रहेका विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइका लागि ल्यापटप उपलब्ध गराइएको वडाध्यक्ष विष्णु आचार्यले बताए ।
विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयको मागका आधारमा ल्यापटप हस्तान्तरण गरिएको उनले बताए ।
वडाध्यक्ष आचार्यका अनुसार कुश्मी प्राथमिक विद्यालय, सिद्धिगणेश प्राथमिक विद्यालय, जनचेतना प्राथमिक विद्यालय, सरस्वती प्राथमिक विद्यालय र जैमिनी प्राथमिक विद्यालयलाई ल्यापटप प्रदान गरिएको छ । वडा कार्यालयमा आयोजित एक समारोहमा नगर शिक्षा अधिकारी खेम आचार्यले विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप हस्तान्तरण गराएका थिए ।
वडामै रहेका शान्ति माध्यमिक विद्यालय र पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयलाई भने अन्य कार्यक्रममा सहभागी गराइने उनले बताए । चालु आर्थिक वर्षमा प्राथमिक विद्यालयमा ल्यापटप वितरणका लागि वडा कार्यालयले तीन लाख ५० हजार विनियोजन गरेको थियो । उनका अनुसार प्रतिल्यापटप ७० हजारका दरले खरिद गरिएको हो ।
‘कम्तीमा प्राविधिक विषय प्रोजेक्टरका माध्यमबाट पढाउन सकियोस्, विद्यार्थीलाई शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्न सकियोस् भन्ने हो’, वडाध्यक्ष आचार्यले भने, ‘यो सुरुआत हो, यसको नतिजाका आधारमा बाँकी कार्यक्रम बनाउँछौँ ।’ सामाजिक विकासका क्षेत्रमा पूर्वाधार विकासमा भन्दा धेरै लगानी गर्ने वडाको योजना छ ।








