नामिबियाविरुद्ध अन्तिम ओभरमा पटकथा लेखेका करण

काठमाडौं । नेपालले नामिबियामाथि तीन रनको रोमाञ्चक जित निकाल्दै घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० आइ श्रृंखलामा फर्किएको छ । नेपालले तीन देश सम्मिलित श्रृंखलामा पहिलो दुई खेल गुमाएको थियो ।

तेस्रो खेलमा रोमाञ्चक जित निकाल्दै नेपालले श्रृंखलाको फाइनल खेल्ने सम्भावना कायम नै राखेको हो । अब नेपालले अन्तिम खेल शनिवार नै नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यो खेलमा जित निकालेमा नेपालको फाइनल सम्भावना बलियो हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित ओभरमा सात विकेट गुमाउँदै १७७ रन मात्र जोड्न सफल भयो । डेथ ओभरमा नामिबियालाई १२ रन आवश्यक थियो ।

तर अनुभवी बलर करण केसीले एक विकेटसँगै ८ रन मात्र दिए र नेपालले साँघुरो जित निकाल्यो । १५ औं ओभरसम्म नामिबिया हाबी थियो । तर १६ औं र १७ औं ओभरमा नेपालका दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले उत्कृष्ट बलिङ गर्दै संयुक्त रूपमा तीन विकेट लिए । त्यससँगै नेपालल खेलमा पकड जमायो । तर त्यस पछिका दुई ओभरमा यी दुवै बलर महँगा भए र नामिबिया फेरि खेलमा फर्कियो । यद्यपि, डेथ ओभरमा करणले आफ्नो अनुभव प्रदर्शन गरेपछि नेपालले जित निकाल्यो । नामिबियाका कप्तान जेजे स्मिथले ५० रनको अर्धशतकीय इनिङ बनाए ।

उनले २६ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । आक्रामक ब्याटिङ गरेका स्मिथ १६ औं ओभरमा आउट भए । उनलाई दीपेन्द्रसिंह ऐरीले अनिल साहलाई क्याच गराए ।

लगत्तै बलमा दीपेन्द्रले जान निकोल लोफ्टी इटनलाई शुन्यमा नै पभेलियन फर्काए । जान फ्रिलिन्कले ३७ रन जोडे । २९ बलमा उनले दुई छक्का र एक चौका हिर्काए । १७ औं ओभरमा उनी अविनाशद्वारा क्लिन बोल्ड भएका हुन् । जेपी कोट्जेले २५ रन जोड्दा जान ग्रिन २३ रनमा अविजित रहे पनि जित दिलाउन सकेनन् ।

नेपालको बलिङमा सोमपाल कामी, दीपेन्द्रसिंह र करणले समान दुई÷दुई विकेट लिए पनि महँगा सावित भए । अविनाशको नाममा एक विकेट रह्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालको शुरुवात पनि खराब रह्यो ।

तर युवा ब्याटर कुशल मल्ल, गुल्सन झा र अनुभवी आरिफ सेखको साथ पायो र नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८० रनको योगफल बनायो । नियमित ओपनर कुशल भुर्तेललाई आराम दिँदै आसिफ सेख र अनिल साहलाई ओपनिङमा पठाउने निर्णय पनि सफल भएन । दोस्रो ओभरमा नै आसिफलाई गुमायो ।

त्यसपछि कप्तान रोहित पनि १० रनमै पभेलियन फर्किए । ओपनर अनिल पनि २३ रनमा आउट भए । त्यससँगै ६.६ ओभरमा ५८ रन जोड्दा तीन ब्याटर पभेलियन फर्किए । तर त्यस पछिका ब्याटरबाट साथ पाउँदा नेपालले राम्रो योगफल बनायो । कुशल मल्ल ५५ रनमा नटआउट रहँदा आरिफ शेखले ३१ रन, गुल्सन झाले २६ रन र दीपेन्द्रसिंहले १६ रन बनाए । कुशलले ३७ बलमा चार छक्का र एक चौका हिर्काए । कुशल र आरिफबीच पाँचौं विकेटका लागि ८५ रनको साझेदारी भयो । यो साझेदारीले नै नेपालको इनिङ अगाडि बढाउन मद्दत मिल्यो ।

नामिबियाको बलिङमा बेन सिकोन्गोले तीन विकेट लिँदा ज्याक ब्रसेलले दुई तथा रुबेन ट्रम्पलमेन, लोफ्टी इटन र बेर्नार्ड स्कल्ट्जले समान एक विकेट निकाले । यसअघि नेपालले नामिबियासँग २० र नेदरल्याण्ड्ससँग दुई रनको पराजय व्यहोरेको थियो । नामिबिया नेदरल्याण्ड्सँग ५९ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *