प्रचण्डको ‘परिवारवाद’ले पतनको बाटोमा माओवादी !

काठमाडौं । नेकपा माओवादी केन्द्रमा नेताहरूको पछिल्लो कार्य विभाजनलाई लिएर असन्तुष्टि चर्किएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो परिवारका सदस्यलाई ‘पद’ दिन ‘मरिहत्ते’ गरेको भन्दै नेताहरूले चर्को असन्तुष्टि जनाएका छन् ।

मंगलबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले प्रदेश इञ्चार्ज र सहइञ्चार्जहरुको कार्य विभाजनको प्रस्ताव पेस गरेका थिए । प्रचण्डको प्रस्तावलाई बुधबार बसेको स्थायी समितिको बैठकले स्वीकृत गरेको बताइएको छ । नयाँ कार्य विभाजनअनुसार कोशी प्रदेश इञ्चार्जको जिम्मेवारी हरिबोल गजुरेललाई दिइएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकार रहेका उनले उक्त पदबाट राजीनामा दिएका थिए ।

यसअघि कोशीको इञ्चार्ज रहेका चन्द्रप्रकाश खनाल ‘बलदेव’ लुम्बिनीको इञ्चार्ज भएका छन् । मधेस प्रदेशको इञ्चार्जमा लीलामणि पोखरेललाई निरन्तरता दिइएको छ । बागमती प्रदेशको इञ्चार्जबाट जनार्दन शर्मालाई हटाएर अग्नि सापकोटालाई जिम्मेवारी दिइएको छ । गण्डकीमा दीनानाथ शर्मा इञ्चार्ज तोकिएका छन् । यसअघि त्यहाँको इञ्चार्ज देवेन्द्र पौडेल थिए । कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेल इञ्चार्ज तोकिएका छन् । यसअघि कर्णालीमा मात्रिका यादव र सुदूरपश्चिममा डिलाराम आचार्य इञ्चार्ज थिए ।

विशेष प्रदेशको इञ्चार्ज हितमान शाक्य तोकिएका छन् । यसअघि उनी लुम्बिनीको इञ्चार्ज थिए । सम्पर्क समन्वय समितिको इञ्चार्ज महासचिव देव गुरुङलाई तोकिएको छ । यस्तै, प्रवास प्रदेश समितिमध्ये मध्यपूर्वको इञ्चार्जमा पम्फा भुसाल, भारतको इञ्चार्जमा मातृका यादव र युरोपको इञ्चार्जमा राम कार्कीले जिम्मेवारी पाएका छन् ।

माओवादीले कोशीको सहइञ्चार्जमा सावित्रीकुमारी काफ्ले, मधेसको सहइञ्चार्जमा विश्वनाथ साह, गण्डकीको सहइञ्चार्जमा हरिराज अधिकारी, लुम्बिनीको सहइञ्चार्जमा कुलप्रसाद केसी र सुदूरपश्चिममा बिना मगरलाई सहइञ्चार्ज बनाइएको छ । कर्णाली र बागमती प्रदेशको सहइञ्चार्जबारे निर्णय हुन बाँकी रहेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

प्रचण्डको ‘परिवारवाद’
अध्यक्ष प्रचण्डले पार्टी स्थायी समितिको मंगलबार साँझको बैठकमा कार्य विभाजनको प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पढेपछि बैठकमा सहभागी केही नेताहरूले विरोध जनाएका थिए ।

यसअघि सुदूरपश्चिम प्रदेशमा पार्टीको नेतृत्व गरेका स्थायी समिति सदस्य खगराज भट्टले पार्टी सिध्याउने गरी कार्यविभाजको प्रस्ताव आएको भन्दै बैठकमा उठेर विरोध जनाएका थिए । ‘मसहित केही साथीहरूको राजनीतिक जीवन सिध्याउने खालको प्रस्ताव आयो । अध्यक्ष कमरेडबाट यो स्तरको प्रस्ताव आउला भन्ने कल्पना गरेको थिइनँ,’ खगराजले पार्टी बैठकमा आफ्नो असन्तुष्टि राखे । त्यसपछि उनी बैठक बहिस्कार गर्दै बाहिरिए ।

प्रचण्डको कार्य विभाजनको प्रस्तावविरुद्ध उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले मंगलबार नै फरक मत राखेका थिए । कार्य विभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा विधि विपरीत, आफ्नो अनुकूलता हेरिएको भन्दै शर्माले लिखित असहमति राखेका थिए ।

नेता शर्माले प्रचण्डको प्रस्ताव केही नेतालाई राजनीतिक रूपबाट विस्थापित र अपमानित गर्ने गरी आएको भन्दै विरोध जनाएका छन् ।

‘मैले जिम्मेवारी नपाउने कुरालाई सामान्य रूपमा लिएको छु । तर यसभित्रको अन्तर्निहित उद्देश्य, विधान सम्मेलनमा मैले प्रस्तुत गरेको अजेन्डाहरु, छलफल र पदाधिकारी समेत अधिवेशनबाट चुनिनुपर्ने मागलाई बेवास्ता गर्दै पदाधिकारी र पार्टी नामबारे पछि गरौंला भन्दै टारिएको अवस्था जगजाहेर छ,’ जनार्दनले आफ्नो फरक मतमा लेखेका छन्, ‘उपर्युक्त मतप्रति सकारात्मक रहेकाहरूलाई जिम्मेवारीविहीन बनाउनुले के मनसाय रहेको छ भन्ने स्पष्ट हुन्छ । उक्त अधिवेशनमा मैले मौखिक रूपमा सो सम्बन्धमा राखेको कुराप्रति बेवास्ता गरेकाले मैले पार्टीको विधि विधानभित्र रहेर आफ्नो मत राख्न खोज्दा अधिवेशनमा समेत बोल्ने अनुमति नदिएको स्मरण गराउँदै कार्य विभाजनमा आइपुग्दा सहो आग्रहबाट निर्देशित भएको स्पष्ट हुन्छ ।’

माओवादी केन्द्रका १ जना स्थायी समिति सदस्यका अनुसार प्रचण्डले मंगलबार कर्णालीको सहइञ्चार्ज बाहेक सबै प्रदेशका इञ्चार्ज र सहइञ्चार्जको कार्य विभाजन गरिएको प्रस्ताव गरेका थिए । तर, बुधबार निर्णय सार्वजनिक हुँदा कर्णालीसहित बागमतीको पनि सह–इञ्चार्जबारे निर्णय हुन बाँकी रहेको भनेर सार्वजनिक भयो ।

प्रचण्डले सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जमा बुहारी बिना मगर र बागमती प्रदेशको सहइञ्चार्जमा भाइ नारायण दाहाललाई प्रस्ताव गरेका थिए । तर, स्थायी समिति सदस्यहरूले व्यापक विरोध गरेपछि भाइलाई सहइञ्चार्ज बनाउने निर्णयबाट प्रचण्ड ब्याक भए ।

‘प्रचण्डको भाइका रूपमा नारायण दाहालजीले पार्टी र राज्यसत्तामा धेरै पटक अवसर पाएको कुरा सबैले बुझेका नै छन् । अहिले उहाँ राष्ट्रिय सभाको सदस्य पनि हुनुहुन्छ । जनप्रतिनिधि रहेका व्यक्ति पार्टीको कार्यकारी भूमिकामा नहुने भन्ने नीति विपरीत अध्यक्षले आफ्ना भाइलाई बागमतीको सहइञ्चार्ज बनाउन खोज्नु भएको थियो । तर पछि ब्याक हुनुभयो,’ ती स्थायी समिति सदस्यले भने ।

बिनाका कारण सुदूरपश्चिममा असन्तुष्टि
सुदूरपश्चिममा माओवादी पार्टीको नेतृत्वका लागि लामो समयसम्म लेखराज भट्ट निर्विकल्प जस्तै थिए । नेकपा विभाजन भएर २ वटा पार्टीहरू साबिककै अवस्थामा फर्किएपछि लेखराज भट्ट एमालेमा आबद्ध भए । त्यसपछि सुदूरपश्चिममा खगराज भट्टले माओवादीको नेतृत्व गरे । सुरुमा सह–इञ्चार्ज रहेर प्रदेशमा पार्टीको नेतृत्व गरेका खगराज पार्टी स्थायी समिति सदस्य भएपछि सुदूरपश्चिम इञ्चार्ज पनि भए । तर, बिचमा कार्य विभाजन फेरबदल हुँदा इञ्चार्जबाट भट्टको जिम्मेवारी खोसियो, र डिलाराम आचार्य सुदूरपश्चिमका लागि माओवादीको इञ्चार्ज तोकिए ।

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिका १ जना सदस्य अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरकै कारण खगराजलाई इञ्चार्जबाट हटाइएको दाबी गर्छन् । उनका अनुसार बिनाले नै बारम्बार दबाब दिएपछि खगराजको जिम्मेवारी खोसिएको थियो ।

अहिले उनै बिना सुदूरपश्चिमका लागि पार्टीको सहइञ्चार्ज तोकिएकी छन् । पार्टीमा जम्बो केन्द्रीय समिति बन्दा केन्द्रीय सदस्य बनेकी बिना पार्टीगत जिम्मेवारीका हिसाबले धेरै जुनियर नेता भएको सुदूरपश्चिमका माओवादी नेताहरू बताउँछन् ।

बिनालाई सहइञ्चार्ज बनाइएको निर्णयप्रति नेता खगराज भट्टले पनि आपत्ति जनाए । ‘व्यक्तिको कुरा भन्दापनि पद्धतिको कुरा हो । विधिको कुरा हो । विधि र पद्धतिलाई कुल्चेर व्यक्तिलाई बढी महत्त्व दिन थालेपछि त्यो पार्टी पार्टी रहँदैन,’खगराजले भने, ‘जुन प्रकारको कार्य विभाजन भएको छ यो पार्टी पतनको सुरुवात हो । पार्टी सिध्याउने खेल हो । प्रचण्डको नेतृत्वमा यहाँसम्म आएको पार्टी उहाँकै कारण पतन हुने अवस्थामा पुगेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *