आचार्यको निधनपछि कलाकारहरू भन्छन्- ‘संगीत विश्वविद्यालयको देहावसान भयो’

काठमाडौँ । वरिष्ठ गायक एवं संगीतकार स्व. भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

सोमवार निधन भएका आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो । सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, नेपाली काँग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका नेता तथा कलाकारहरुको उपस्थिति रहेको थियो ।

श्रद्धाञ्जली अर्पण गर्न पुगेका कलाकार नीर शाहले स्व.आचार्यलाई नेपाली आधुनिक र भक्ति संगीतमा भक्तराज आचार्यको अतुलनीय योगदान रहेको बताए । उनले संगीतकारमा हुनुपर्ने सबै गुणहरु भएको व्यक्तिका रुपमा चित्रण गरे । उनले संगीतको विकासका लागि सचेत मानिसको श्रेणी भन्दा माथि उठेर सङ्घर्ष गर्ने व्यक्ति स्व. आचार्य रहेको बताए । कलाकार जितु नेपालले आचार्यको भौतिक शरीरले नेपालीलाई छोडेपनि उनका सिर्जना सधैँ नेपालीमाझ अमर भइरहने बताए । संगीत विश्वविद्यालयको देहावसान भएको बताए ।

आचार्यको सोमवार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि अस्वस्थ थिए । आचार्यले झन्डै ४ सय गीतमा स्वर तथा सङ्गीत दिएका छन् । स्वरसम्राट नारायण गोपालका समकालीन गायक आचार्य १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *